माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाँउपालिका वडा नं. २ जल्पा ढोलीमाराका कृषकहरुलाई २५ सय किविको बिरुवा वितरण गरिएको छ ।
डिभिजन वन कार्यलय पाल्पाको सहयोगमा किविको विरुवाहरु वितरण गरिएको सामुदायिक सहजकर्ता सिमा घर्तीले बताउनु भयो । पूर्वखोला गाँउपालिकाले किवि खेतीको पकेट क्षेत्र घोषणा गरेको जल्पाको ढोलीमारामा ३र४ बर्ष पहिले देखि किवि लगाउन शुरु गरिएको हो ।

सामुहिक जन श्रमदानबाट सफल देखिएको ढोलीमाराको सामुहिक किवि खेतीमा अहिले खेती गर्ने क्षेत्र समेत विस्तार भएर २५ रोपनी नाघिसकेको छ । पछिल्लो समय किवि खेतीबाट प्रतिफल राम्रो भएपछि सरोकारवाला निकायहरुबाट समेत निरन्तर सहयोग मिलेको कृषकहरु बताउछन् । यस बर्ष उत्पादित सात क्विन्टल किविले राम्रै बजार पाएको र करिब २ लाख रुपैयाको किवि विक्रि गरिएको कृषक समुहका अध्यक्ष भिम वहादुर सारुले बताउनु भयो ।

कृषी पर्यटन सहित आर्थिक समृद्धिको लागि किवि खेती भनेर पकेट क्षेत्र घोषणा गरिएको यो गाउँमा अहिले कृषकको माग अनुसार व्यक्तिगत जग्गामा पनि किवि लगाउन शुरु गरिएको छ । पौष माघ महिनामा लगाउन सकिने किविको बिरुवा समुन्द्र सतह देखी एक हजार दुई सय फिट देखि माथिको उचाईमा राम्रो फस्टाउने गर्दछ ।