रासस
तम्घास, गुल्मी । रेसुङ्गा नगरपालिका–८ गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने उद्धेश्यले लघु सङ्ग्रहालय स्थापना गरेको छ । विद्यार्थीलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीको जानकारी दिने र प्रयोगात्मक अभ्यास गराउने उद्धेश्यले लघु सङ्ग्रहालय स्थापना गरेको विद्यालयले जनाएको छ ।
विद्यालयमा व्यवस्थित रूपमा माना, पाथी, टुकी, बत्ती, ठेका, मदानी, डोको, नाम्लो, डाला, फुगो, तराजु, ढक, कुचोलगायत प्राचीन सामग्री राखिएका छन् । त्यसैगरी गुन्द्रो, लालटिन, आरी, हाँडी, मटुलो, प्राचीन पैसाहरु, खुकुरी, सिलौटो, लोहोरो, मादल लगायत दुई दर्जन भन्दा बढी प्राचीन सम्भयता झल्काउने सामग्री राखिएको विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्यालले जानकारी दिनु भयो ।
विद्यालयमा सङ्ग्रहालय स्थापना भएपछि उत्साहित भएका विद्यार्थीहरुले किताबमा पढेका कुराहरूलाई प्रयोगात्मक रूपमा सिक्न सङ्ग्रहालय सहयोगी बनेको उल्लेख गरे । उनीले सङ्ग्रहालयमा गएपछि नयाँ नयाँ सोच आउने र पढाइप्रति ध्यान केन्द्रित हुने समेत बताए ।
प्राचीन समयमा मानव जीवन सञ्चालनका लागि धेरै प्रयोगमा आउने तर हाल विभिन्न प्रविधिले प्रयोगमा नआएका सामग्रीलाई विद्यालयले सङ्ग्रहालयका रूपमा संरक्षण गरेको प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनु भयो । किताबी ज्ञान औपचारिक शिक्षा मात्रै भएकोले विद्यार्थीलाई व्यावहारिक ज्ञानबारे पनि जानकारी गराउन सङ्ग्रहालय स्थापना गरिएको उल्लेख गर्दै सङ्ग्रहालयबाट विद्यार्थीलाई नेपाली समाजको कला संस्कृति र पुर्खाहरूले गरेका काम लगायतका विषयमा जानकारी दिन खोजिएको श्रीसले बताउनु भयो ।
अधिकांश सामग्री स्थानीय समुदायबाट सङ्कलन गरिएको र केही अन्य स्थानबाट पनि ल्याइएको प्रअ श्रीसले जानकारी दिनु भयो । उहाँले सङ्ग्रहालयबाट विद्यार्थीलाई पुराना वस्तु र प्रविधिसँग पनि परिचित गराउने लक्ष्य राखिएको बताउनु भयो । सङ्ग्रहालय स्थापनाका लागि डोका, डाला लगायत वस्तुहरू निःशुल्क रूपमा सङ्कलन गरिएको र तामाका सामग्री भने खरिद गरिएको विद्यालयले जनाएको छ । समाचार स्रोत : रासस