देवीनगर, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. ४ देवीनगर पाल्पामा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान तथा महिनावारी स्वास्थ्य र स्च्छता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

देवीनगर वडा कार्यालयको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा मातृभूमि माध्यमिक विद्यालय देवीनगरमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्राहरुको सहभागिता रहेको थियो । कार्यक्रममा देवीनगर स्वास्थ्य चौकीका ईन्चार्ज अब्दुल्ला कुजडा र अनमि गीतुमाया कवरले एचपिभी खोप अभियान तथा महिनावारी स्वास्थ्य र स्च्छताका बारेमा जानकारी गराउनु भएको थियो ।

नेपाल सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गते सम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान चलाउदै छ । यसै सन्दर्भमा उक्त अभियानको बारेमा र एचपिभी खोपको आवश्यकता महत्व तथा प्रभावकारीता लगायतका विषयमा जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरिएको अनमी गीतुमाया कवरले जानकारी गराउनु भयो ।

पूर्वखोला गाउँपालिकाको वडा नं. ४ देवीनगरमा यही माघ २२ गते र उक्त दिन खोप लगाउन छुटेकालाई माघ २३ गते एचपिभी खोप लगाउने कार्यक्रम तय भएको वडाध्यक्ष मेहर सिं थापाले बताउनु भयो ।

एचपिभी खोप अभियान अन्तर्गत पाल्पामा १० हजार ४ सय ५८ जनालाई उक्त खोप लगाउने लक्ष्य रहेको र पुर्वखोला गाउँपालिकामा ६ सय ९६ जनालाई यो खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिनु भयो ।