तानसेन, पाल्पा । नेपाल सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गते सम्म देशभरि सञ्चालन गर्न लागेको किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान अन्तर्गत पाल्पामा १० हजार ४ सय ५८ जनालाई उक्त खोप लगाईने भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले तानसेनमा आयोजना गरेको जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मी अभिमुमुखीकरण कार्यक्रममा उक्त जानकारी गराईएको हो । अभिमुखीकरण कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले पाल्पामा यही माघ २२ गतेदेखि रम्भा, माथागढी, पुर्वखोला, रामपुर र निस्दी गाउँपालिकामा तथा माघ २८ गतेदेखि रैनादेवी छहरा, रिब्दीकोट, तानसेन, बगनासकाली र तिनाउ गाउँपालिकामा अभियान शुरु हुने बताउनु भयो ।

उहाँले यस अभियान अन्तर्गत रामपुर नगरपालिकामा १ हजार ९ सय ४३ जना, पुर्वखोला गाउँपालिकामा ६ सय ९६ जना, रम्भा गाउँपालिकामा ६ सय १६ जना र बगनासकाली गाउँपालिकामा ५ सय ४८ जना किशोरीहरुलाई खोप लगाईने बताउनु भयो । यस्तै तानसेन नगरपालिकामा २ हजार ३ सय ९० जना, रिब्दीकोट गाउँपालिकामा ६ सय ५८ जना, रैनादेवी छहरामा १ हजार ७८ जना, तिनाउमा ७ सय ११ जना, माथागढीमा ९ सय ६१ जना, निस्दी गाउँपालिकामा ७ सय ८९ जना र विद्यालय बाहिरका ७० जना गरि कुल १० हजार ४ सय ५८ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा खोप अधिकृत विश्वनाथ न्यौपानेले गर्भवती महिला र क्यान्सर भएका, एलर्जी हुने, अपरेसन गरेका सिकिस्त बीरामी बाहेक अन्य व्यक्तिले खोप लगाउन मिल्ने बताउदै एच.पि.भि. खोप अभियानमा महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स, शिक्षिका र तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरिने उल्लेख गर्नु भयो ।

एच.भि.पि. खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लगाईने खोप हो । नेपालमा प्रत्येक वर्ष १ हजार ३ सय १३ जना (प्रत्येक दिन ४ जना) महिलाको मृत्यू पाठेघरको मुखको क्यान्सरबाट हुने तथ्यांक रहेको छ । यही अवस्थालाई मध्येनजर गरी नेपाल सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गते सम्म देशभरि नै कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउने भएको हो ।