तानसेन, पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले दक्ष जनशक्ति विदेश पलायन हुने प्रवृत्तिका कारण हाम्रो देश पछि परिरहेको बताउनु भएको छ ।

यूनाईटेड मिसन अस्पताल तानसेन पाल्पामा सञ्चालित एस.वि.ए. को ५९ औं ब्याच तथा एम.एल.पी. ४० औं ब्याचको तालिम समापन समारोहमा बोल्दै मन्त्री सारुले नेपालमा स्वास्थ्य लगायतका क्षेत्रमा थोरै संख्यामा दक्ष जनशक्ति उत्पादन हुने बताउदै उक्त दक्ष जनशक्ति पनि देशमा बस्ने प्रवृति नहुँदा देश पछि परिरहेको बताउनु भयो । उहाँले सुत्केरी भएको ४८ घण्टा पछि ४६ प्रतिशत आमाहरुको मृत्यू हुने तथ्यांक रहनु गम्भिर अवस्था भएको बताउनु भयो ।

उहाँले गुणस्तरीय सेवा प्रवाह नहुँदा सेवाग्राहीहरुले सेवा प्रदायक संस्थालाई विश्वास नगर्ने र त्यो संस्था छोडेर जाने वातावरण बन्ने गरेको समेत उल्लेख गर्नु भयो। स्वास्थ्य मन्त्रालयबाट सेवाग्राहीले सहज रुपमा देख्न सक्ने गरि सेवा र शुल्क सहितको नागरिक वडापत्र राख्न निर्देशन दिएपछि लुम्बिनी प्रदेशका १४ वटै सरकारी अस्पतालहरुमा यो लागु भएर कार्यान्वयनमा आउनु खुशीको कुरा भएको उल्लेख गर्नु भयो।

यूनाईटेड मिसन अस्पतालका तालिम संयोजक लेस डोर्ननले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो । उहाँले तालिममा सिकेका ज्ञान र अनुभवलाई आफ्नो ठाउँमा आएका बीरामीहरुमा प्रयोग गर्नुपर्ने बताउनु भयो ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले पाल्पाको मिसन अस्पतालमा तालिम लिन पाउनु निकै राम्रो भएको बताउनु भयो । उहाँले तालिमले पहिले दिईरहेको सेवा भन्दा थप सेवा दिन सक्ने आत्मविश्वास बढाएको बताउनु भयो । तालिम संयोजक पशुपति न्यौपानेले तालिम भन्दा पहिले २५ प्रतिशत ज्ञान रहेकोमा तालिम पछि ९७ प्रतिशत प्रगति भएको बताउनु भयो ।

स्वास्थ्य तालिम केन्द्रका भुवन कुँवरले आफ्नो कार्यक्षेत्रमा गएर कति गर्ने लगनशिलताको आधारमा नतिजा प्राप्त हुने बताउनु भयो । तालिम केन्द्रले सञ्चालन गरेका तालिमहरुको नतिजा फलो अप गरिरहेको र त्यसबाट नतिजा आएन भने कुनैपनि तालिमको औचित्य नहुने बताउदै उहाँले आवश्यकता भन्दा धेरै बर्थिङ सेण्टरहरु भएकोले त्यसको व्यवस्थापन जरुरी रहेको बताउनु भयो ।

अस्पताल प्रशासन प्रमुख जीवन भट्टराईले विगत ७१ वर्षदेखि पाल्पामा यूनाईटेड मिसन अस्पतालले पाल्पाको स्वास्थ्य क्षेत्रमा सहज पहुँच नभएका नागरिकहरुलाई सेवा दिईरहेको बताउनु भयो । तालिमका सहभागिहरु पृथ बहादुर बानियाँ र लक्ष्मी पौडेलले आफ्नो कार्यक्षेत्रमा गएर सिकेका सीपलाई सिकाउने र सकेसम्म धेरै प्रयोग गर्ने बताउनु भयो ।

मंसिर १३ गतेदेखी ६० दिनसम्म चलेको तालिममा रोल्पा, दाङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, बर्दीया, रुकुम लगायत जिल्लाबाट सहभागीता भएको तालिम संयोजक पशुपति न्यौपानेले जानकारी दिनु भयो ।