विष्णु जि.सी.
सराई, पाल्पा । माथागढी गाउँपालिका पाल्पाले आयोजन गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माथागढीको सराई खेल मैदानमा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले खेलकुद प्रतियोगिताका माध्यमबाट विद्यार्थी–विद्यार्थीका बीचमा सकारात्मक प्रतिष्पर्धा गर्ने भावनाको विकास गर्न सकिने धारणा व्यक्त गर्नु भयो । प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा समेत असल अन्तरसम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नु भयो । मन्त्री सारूले प्रदेश सरकार मेरो स्वास्थ्य मेरो जिम्मेवारी हो भन्ने मान्यताका साथ अघि बढेको बताउदै खेलका माध्यमबाट स्वस्थ र निरोगी रहन सहयोग पुग्ने बताउनु भयो ।

यस पटकको प्रतियोगिता सञ्चालन गर्न पालिकाले नै वजेटको व्यवस्था गरेको उल्लेख गर्दै माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने स्थानीय बासिन्दा, खेलकुद समितिका पदाधिकारी, रेफ्री र स्वयमसेवक सबैलाई धन्यवाद दिनुभयो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ८ स्वर्ण, ६ रजत र ५ कास्यपदक सहित १९ पदक जितेर सौभाग्य मावि चिदीपानी यस वर्षको राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको विजेता बन्न सफल भयो । प्रतियोगितामा किसान मावि झडेवा ७ स्वर्ण, तीन रजत र ४ कास्य पदक सहित दोस्रो भयो भने ६ स्वर्ण ५ रजत र २ कास्य पदक सहित दिव्यज्योति मावि कसेनी सराई तेस्रो बनेको थियो ।

सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा सातपोखरी मावि र माउण्ट भ्याली माविले १०/१० पदक जितेका थिए । ज्याभलिन थ्रो, कपर्दी, रिले दौड, एकल दौड, भलिबल, हाइजम्प, लङ्ग जम्प र सटफुट लगायतका खेलहरु खेलाईएको उक्त रनिङ् शिल्ड प्रतियोगितामा ग्रामोदय माविले ९, कर्णाधार माविले ७ तथा रत्न मावि, हात्तीलुङ् मावि, सिद्धार्थ मावि र महेन्द्र नरेश माविले ३/३ पदक हात पारेको खेल संयोजक प्रेमबहादुर बाह्रघरेले जानकारी दिनुभयो ।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको अध्यक्षता र दिव्य ज्योति माविका प्रधानाध्यापक लोकेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।