पाल्पा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअल रुपमा सुरुङ छिचोल्नका लागि स्विच थिचेर ब्रेक थ्रु गर्नु भएको हो ।
यससँगै सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ हजार १ सय २६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री ओलीको उपस्थितिमा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने भनिए पनि कार्यक्रमको अन्तिममा आएर प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण भर्जुअल मार्फत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले अब नेपाल दुर्गमबाट सुगम देशको रुपमा जाँदै गरेको उल्लेख गर्दै मुलुक सुरुङमार्गमा प्रवेश गरेको बताउनु भयो । उहाँले जोखिम क्षेत्रहरुको पहिचान गरी सुरुङ बनाउने काम धमाधम भइरहेको भन्दै सिद्धबाबाको सुरुङमार्गको बाँकी काम समयमै हुने बताउनु भयो । प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष हुने सवारी दुर्घटना र पहिरोमा पर्ने समस्याबाट नागरिकलाई मुक्त गराउन सुरुङ मार्ग निर्माण गरिएको समेत बताउनु भयो ।

समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पुर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल,लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत जिल्लाका विभिन्न राजनीतिक दलहरु र राष्ट्र सेवकहरुको उपस्थित रहेको थियो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् ।