प्रेम बगाले
बगनासकाली, पाल्पा । बगनासकाली गाउँपालिका वडा नं.१ चिलाङ्दी पाल्पामा निर्माण सम्पन्न भएको बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न चार तले प्रशासनिक भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअल मार्फत उद्घाटन गर्नु भएको छ ।

स्वास्थ्य समस्याका कारण अन्तिम समयमा पाल्पा आउन नसक्ने भएपछि प्रधानमन्त्री ओलीले भर्चुअल मार्फत उद्घाटन गर्नु भएको थियो । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ भवनमा बसेर काम गर्दा जुन उत्साह जनप्रतिनिधी, कर्मचारीहरुमा भएको छ त्यसै गरी जनतालाई खुसी पार्ने काम गर्न अनुरोध गर्नु भयो । देश विदेशीको कव्जाबाट जोगाउने जिल्लाको रुपमा रहेको पाल्पालाई पर्यटन, ढाका, करुवाबाट आर्थिक रुपमा माथि उठाउन सरकारको पहल रहने समेत प्रधानमन्त्रीले ओलीले बताउनु भयो ।

भवन उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ भवनबाट जनताको मन जित्ने गरी काम गर्न आग्रह गदै गाउँपालिकाको सेवाप्रवाह आगामी दिनमा थप प्रभावकारी र सहज हुने विश्वास ब्यक्त गर्नु भयो । उहाँले नेपालमा एकात्मक व्यवस्था अन्त्य भइसकेकोले नागरिकलाई महसुस हुने गरी संघीय व्यवस्था कार्यान्वयन गर्न सबै स्थानीय तहलाई अनुरोध समेत गर्नु भयो ।

यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मृत्युमार्गबाट चिनिएको सिद्धबावा क्षेत्रलाई सुरुङ्ग मार्गपछि जीवनमार्गको रुपमा पहिचान दिएको बताउनु भयो । उहाँले पाल्पाली जनताको चाहनालाई मुर्त रुप दिन यो सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो । शिक्षकको निवृत्तीभरण २०७५ सालदेखि लागु हुने नभई कानून प्रमाणित भएसँगै २०८१ साल देखि मात्र लागु हुने समेत बताउनु भयो। कार्यक्रममा संघीय सांसद ठाकुर गैरे, लुम्बिनी प्रदेश सांसद तथा पूर्व मन्त्री वीरबहादुर राना लगायतले भवन निर्माणसँगै जनतालाई सहज सेवा प्रवाह गर्न पालिकालाई आग्रह गर्नु भयो ।

बृहत् सभाहल सहितको भवनबाट सेवाग्राहीलाई सेवा प्रवाह गर्नका लागि सुविधा सम्पन्न भएको पालिका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो । चार तले उक्त भवनमा १९ वटा कोठाहरु रहेका छन् । भवनको २०७८ फागुन ८ गते निर्माण सुरु गरी २०८० फागुन २ गते निमार्ण सम्पन्न गरिएको थियो। गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत गरी कुल ६ करोड ४७ लाख ८४ हजार ८९ रुपैयाँमा प्रशासनिक भवन निर्माण भएको हो ।

भवन अपाङ्गतामैत्री र माथिल्लो तलामा जान आउनका लागि लिफ्टको व्यवस्था गरिएको बताउदै उपाध्यक्ष हरि प्रसाद पाठकले नयाँ भवनबाट सेवा प्रवाह प्रभावकारी भएको र सबै पालिकावासीलाई पायक पर्ने उल्लेख गर्नु भयो ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा आउने पाहुनाहरुलाई पञ्चेबाजाले स्वागत गरिएको थियो भने विभिन्न समुदायका नृत्य समेत प्रदर्शन गरिएको थियो ।

यसैवीच प्रधानमन्त्री ओलीले तिनाउ गाउँपालिकाको नवनिर्मित भवनको समेत भर्चुअल माध्यमबाटै उद्घाटन गर्नु भएको छ । ‘भर्चुअल’ रुपमा उद्घाटन गरिएको कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत उपस्थित हुनु भएको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले भवन निर्माण पालिकाको उपलब्धिमूलक कार्य भएको बताउदै नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिकलगायत शाखाहरूले सेवा प्रवाह गर्ने बताउनु भयो ।