विष्णु जि.सि.
पूर्वखोला, पाल्पा । सामुदायिक मेलमिलापकर्ताहरुका लागि आयोजित २ दिने पुनर्ताजगी तालिम पूर्वखोला गाउँपालिका पाल्पामा सम्पन्न भएको छ ।

पूर्वखोला गाउँपालिकाका पाल्पाले आयोजना गरेको उक्त तालिममा पूर्वखाला गाउँपालिका अन्तर्गतका १८ जना सामुदायिक मेलमिलापकर्ता, न्यायिक समितिका सदस्यहरू, गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्षहरू र पूर्वखोला गाउँपालिका वडा नं ३ का आमा समूहका प्रतिनिधिहरू सहभागी भएका थिए ।

सामुदायिक मेलमिलापकर्ताहरुमा विवाद समाधान गर्ने क्षमता अभिबृद्धि गराउदै निष्पक्ष र सहज वातावरणको सृजना गरि समस्याहरुलाई सहमतिमा ल्याई समुदाय स्तरमा नै विवाद समाधान तथा निराकरण गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजित उक्त तालिमको शहजिकरण पूर्वखोला गाउँपालिकाका कानूनी सल्लाहकार नारायण प्रसाद ज्ञवाली, अधिबक्ता शान्ती बस्याल र मेलमिलापकर्ता अम्बिका बस्यालले गर्नु भएको थियो ।

तालिममा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले सामुदायिक मेलमिलापकर्ताहरुको कारण समाजमा आईपर्ने साना र समाधान गर्न मिल्ने खालका विवाद तथा समस्याहरु समुदाय स्तरमै समाधान हुने भएकाले यो तालिमले सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

न्यायिक समिति सदस्य सचिव शर्मिला चौधरीले सञ्चालन गर्नु भएको तालिम समापन कार्यक्रममा बोल्दै पूर्वखोला गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भागिरथी शर्मा भट्टराई र प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ लगायतले न्यायिक समिति र सामुदायिक मेलमिलापकर्ताहरुको समन्वयमा ग्रामिण भेगमा हुने सामान्य विवाद समाधान गर्न, कानुनी र न्यायीक समाजको निर्माण गर्न, नागरिकलाई न्यायको अनुभुती गराउन तालिमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भयो । तालिम समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भागिरथी भट्टराईको अध्यक्षतमा सम्पन्न भएको थियो ।