आरके थापा
वौघापोखराथोक, पाल्पा । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम तानसेन नगरपालिका वडा नं. १२ वौघापोखराथोक पाल्पामा सम्पन्न भएको छ ।

तानसेन नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका, हाल वैदेशिक रोजगारीमै रहेकाहरुको परिवार तथा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिहहरु सहभागी भएका थिए । कार्यक्रमको शहजिकरण गर्नु हुदै सामि पाल्पाका संयोजक दिनेश घिमिरेले वैदेशिक रोजगारीमा जानु अघि तयारी गर्नु पर्ने कागजी प्रक्रियाहरु तथा उक्त प्रक्रियाहरुको क्रममा ख्याल गर्नु पर्ने विषयहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

यस्तै विदेश किन र कुन कामका लागि कहाँ जादैछु, कुन र कस्तो म्यानपावर मार्फत कसरी जाने तथा पैसा र कागजपत्रहरु बुझाउदा गर्नु पर्ने सावधानीहरुका बारेमा समेत जानकारी गराउनु भएको थियो । यस्ता विषयहरुमा वैदेशिक रोजगारीमा जाने व्यक्ति मात्र नभई घरपरिवार सवैलाई जानकारी गर्नु गराउनु र हुन आवश्यक रहेको पनि प्रशिक्षक घिमिरे उल्लेख गर्नु भयो ।

कार्यक्रमको समापन गर्नु हुदै तानपा १२ का वडाध्यक्ष मेजर केसीले सकेसम्म स्वदेशमै रोजगारीको अवसरहरु खोजी गर्नु पर्ने र विदेश जानै पर्ने भएमा सवै प्रक्रियाहरु पूरा गरेर कानुनी रुपमा मात्र जानु पर्ने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जानु अघि मात्र नभई गएपछि पनि वैदेशिक रोजगारीमा जाने व्यक्ति र घरपरिवारले समेत आवश्यक जानकारी तथा कागजपत्रहरु सुरक्षित राख्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसामा कहिल्यै जान नहुने तथा कुनै न कुनै सीप र ज्ञान सिकेर मात्र जानु पर्ने, अनिवार्य रुपमा वीमा गर्ने र श्रम स्वीकृत लिएर मात्र जानु पर्ने लगायतका विषयहरुमा समेत छलफल भएको थियो ।