रैनादेवी, पाल्पा । रैनादेवी छहरा गाउँपालिका पाल्पाको पाँचौं अध्यक्ष कप २०८१ प्रतियोगिताको पुरुष र महिला भलिबलमा वडा नं. ४ छहराको समूह पहिलो भएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने मूल नाराका साथ कटौजेपानी खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको पुरुष र महिला भलिबलमा वडा नं. ४ छहराको समूह पहिलो भएको हो । उक्त प्रतियोगिताको पुरुष भलिबलवमा वडा नं. २ सोमादी दोस्रो र वडा नं. १ सिद्धेश्वर तेस्रो भएका थिए । प्रतियोगितमा पहिलो स्थान हासिल गर्नेलाई नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद ३०, हजार, ट्रफी, मेडल, र प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्नेलाई नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो । वडा नं. ५ मुझुङग सान्त्वना भएर नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको थियो ।

महिला भलिबलतर्फ पनि छहराको समूह पहिलो भएको थियो । प्रतियोगितामा पहिलो हुने महिला भलिबवल समूहलाई नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै दोस्रो हुने वडा नं. ५ मुझुङगको समूहलाई नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने वडा नं. ८ सत्यवतीको समूहलाई नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकोथियो। प्रतियोगितमा वडा नं. ७ बल्ढेङगढीले सान्त्वना स्थान हासिल गरेर नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो।

समापन समारोहमा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले खेलकुद क्षेत्रमा खेलाडीहरूको योगदानको प्रशंसा गर्दै खेलकुदले स्वस्थ जीवनशैली प्रवर्धनमा सहयोग गर्ने बताउनु भयो । गाउँपालिका उपाध्यक्ष युवराज थापाले पाँचौं अध्यक्ष कप २०८१ ले गाउँपालिका भित्रका युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै सहकार्य र एकताको भावना प्रवर्धन गरेको बताउनु भयो ।

यस्तै खेल संयोजक नारायण कार्कीले यस्ता प्रतियोगिताले रैनादेवी छहरा गाउँपालिकाको खेलकुद इतिहासमा नयाँ अध्याय थपेको बताउँदै आगामी दिनमा अझ ठूला प्रतियोगिता आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो। समापन समारोहको सञ्चालन शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख निशा पाण्डेले गर्नु भएको थियो ।