दोभान, पाल्पा । तिनाउ गाउँपालिका दोभान पाल्पा र बगनासकाली गाउँपालिका पाल्पाको प्रशासनिक भवनको आगामी शुक्रबार नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने भएको छ ।
सो तयारीका सन्दर्भलाई लिएर तिनाउ गाउँपालिकामा स्थानीय राजनीति पार्टीका नेतागण, बुद्धिजीवी एवम् सरोकारवालाहरु वीच शान्ति सुरक्षा, उद्घाटन तथा कार्यक्रमिक योजनाका सम्बन्धमा सर्वदलीय बैठक बसेको छ।
कार्यक्रमका बारेमा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सहभागीहरुलाई जानकारी गराउनु भयो । यस्तै सम्माननीय प्रधानमन्त्री ओली तिनाउको प्रशासनिक भवनको उद्घाटन अवसरमा आउनु यस क्षेत्रकै लागि सुनौलो अवसर रहेको बताउँदै तिनाउ गाउँपालिकाले उक्त अवसरलाई विकास निर्माणसँग जोडेर लैजानुपर्नेमा स्थानीय बुद्धिजीवी दलबहादुर गुरुङले जोड दिनु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रेम पाण्डेय, एनेकपा माओवादीका नेता चक्रव्युह थापा, बुद्धिजीवी बुद्वहादुर बस्नेत, दमबहादुर कार्की, सिद्धबाबा मन्दिर विकास समितिका सदस्य तोया लम्साल लगायतले प्रधानमन्त्रीको तिनाउ आगमनलाई भव्य तथा सभ्य तरिकाले सम्पन्न गर्न सबै राजनीतिक पार्टी र स्थानीय नागरिकहरुको सक्रिय सहभागिता रहने बताउनु भयो ।
कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले गर्नु भएको थियो । उता बगनासकाली पाल्पामा पनि उदघाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ । पालिकाले सूचना नै जारी गरी उक्त कार्यक्रममा सहभागी हुन र कार्यक्रम भव्यरुपमा सफल बनाउन सवै पक्ष र व्यक्तित्वहरुलाई अनुरोध गरेको छ ।

प्रधानमन्त्री केपि शर्मा ओली राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गतको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रमका लागि यही ११ गते शुक्रबार पाल्पा सिद्धबाबा सुरुङमार्ग निर्माण स्थल आउदै हुनुहुन्छ । सोही अवरमा पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिका दोभानको प्रशासनिक भवनको उदघाटन प्रधामन्त्रीबाट गर्ने कार्यक्रम तय गरिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनु भयो ।