पूर्वखोला, पाल्पा । पूर्वखोला गाउँपालिकाको आयोजनामा आधारभूत तथा माध्यमिक विद्यालयका आइटी श्रोत शिक्षकहरुका लागि सञ्चालित सूचना तथा प्रविधि सम्बन्धी पाँच दिने क्षमता विकास तालिम पूर्वखोलामा सम्पन्न भएको छ ।

आधारभूत तथा माध्यमिक विधालयका २० जना आइटी श्रोत शिक्षकहरुको सहभागिता रहेको उक्त तालिमको सहजीकरण तालिम प्रशिक्षक जीवन आचार्य, शिक्षा शाखाका झबिर राज मगर र शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाले गर्नु भएको थियो। तालिमको उद्धेश्य बारे बताउदै शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाले पाँचदिने आइटी तालिमले शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनु भयो । उहाले शिक्षा शाखा मार्फत यस अघि प्राथमिक तहका शिक्षकहरुलाई तालिम प्रदान गरिएको समेत जानकारी दिनुभयो ।

यस्तै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले हरेक नागरिकले समयानुकुल रुपमा आफुलाई अघि बढाउन प्रविधिको प्रयोग अनिवार्य भएको उल्लेख गर्दै गाउँपालिकाले हरेक विद्यालयलाई प्रविधि युक्त बनाउन र सिप विकास गराउन निरन्तर लागि परेको बताउनु भयो । अध्यक्ष थापाले सामाजिक रुपमा शिक्षक प्रेरणाको श्रोत रहेको बताउदै समाज बदल्ने बलियो आधार शिक्षकहरु रहेको समेत उल्लेख गर्नु भएको थियो ।

पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले सिप सिकेर आफ्नो ठाउँमा लागू गरि विधार्थीहरुको सिकाइ समेत प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो । प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले प्रतिस्पर्धात्मक वर्तमान समयमा आइटी अनिवार्य भएको उल्लेख गर्नु भयो । उहाँले प्रविधिमा कमजोर हुँदा धेरै बिषयबस्तुहरुलाई असर गर्ने बताउदै प्रविधिको बढ्दो प्रयोगसँगै अहिले यो हरेक मानिसका लागि अनिवार्य जस्तै भएको बताउनु भयो ।

तालिम पश्चात तालिममा सहभागी शिक्षकहरुले आफुहरुले सिकेको सैद्धान्तिक र व्यहारिक ज्ञानहरु विद्यालय र विद्यार्थीहरुसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै तालिम उपलब्धीमुलक भएको बताएका थिए ।