विष्णु जि.सि.
झडेवा, पाल्पा । माथागढी गाउँपालिकाले सञ्चालन गरेको पाँच दिने एकीकृत घुम्ति शिविर सफतापूर्वक सम्पन्न भएको छ ।
गाउँपालिकाको ८ वटै वडाका सेवा ग्राहीहरुलाई सहज हुने गरि पाँच स्थानमा सञ्चालन गरिएको उक्त शिविरबाट ३ हजार ५ सय १९ वटा सेवा प्रवाह भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले नागरिकलाई घरदैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडालाई पायक पर्ने गरि शिविर सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले पालिकाको कार्यालयसम्म सहज पहुँच नहुने नागरिकहरुलाई लक्षित गरेर सञ्चालन भएको शिविर सोचे अनुसार नै सफल भएको बताउनु भयो । यस्तै गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेले नागरिकहरुले घरदैलोमै सेवा पाउँदा खुसी भएको बताउदै नागरिकहरुको पैसा र समयको बचत भएको उल्लेख गर्नु भयो ।

माथागढी गाउँपालिकाको वडा नंं १ चिदीपानीबाट शुरु भएको शिविर पालिकाको मुख्य कार्यालय झडेवामा पुगेर सम्पन्न भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभए अनुसार चिदीपानीमा ६ सय १०, दिव्यज्योती माध्यमिक विद्यालय कसेनीमा १ हजार ९, गोठादीको वडा कार्यालयमा ५ सय ३, महेन्द्र नरेश माध्यमिक विद्यालय मटेरीमा ३ सय ११ र माथागढी गाउँ कार्यपालिकाको कार्यालय झडेवामा १ हजार २६ वटा सेवा दिईएको थियो ।

शिविरमा स्वास्थ्य सेवा अन्तर्गत चिकित्सकद्वारा बिरामी परिक्षण, परिवार नियोजनको लामो अवधीको साधन ईम्प्लान्ट र IUCD सेवा, पाठेघरको मुखको क्यान्सर (VIA) परिक्षण, प्रजनन रुग्णता सम्बन्धी सेवा, ल्याब सेवा, आयुर्वेद स्वास्थ्य सेवा तथा कृषि सम्बन्धी सेवा र पशु सम्बन्धी सेवा प्रदान गरिएको थियो ।

यस्तै जेष्ठ नागरिक परिचय पत्र बितरण, जेष्ठ नागरिक सम्मान, बालमैत्री स्थानिय शासन प्रबर्द्धन, घटना दर्ता तथा योजना सम्झौता लगायतका गाउँ पालिकाबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु उक्त घुम्ति शिविरमा खटिएको टोलिबाटै प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनु भयो ।