लमजुङ । लमजुङका किसानहरुले अलैँची बिक्री गरेर यस वर्ष २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १ सय ५० मेट्रिक टन अलैँची बिक्रीबाट उक्त आम्दानी भएको हो ।

यस वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँचसय देखि दुई हजार चार सय रुपैयाँ सम्ममा अलैँची बिक्री भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका किसानले २ सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी  २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो १ हजार २ सय रुपैयाँका दरले अलैँची बिक्री गरेका थिए ।

जिल्लामा सबैभन्दा बदी मस्यार्ङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् । मस्यार्ङ्दी गाउँपालिका ५ सन्जापुका स्थानीयले मात्र यस वर्ष ६ हजार ७ सय केजी अलैँची बिक्री गरी १ करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताउनु भयो । गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो । भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ ।

जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि तीन सय ७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।

जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सयदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो ।