सराई, पाल्पा । माथागढी गाउँपालिकाको आयोजनामा माथागढी वडा नं ३ दिव्यज्योती मावि सराईमा सञ्चालित एकिकृत घुम्ती शिविर माननीय स्वास्थ्यमन्त्री खेम बहादुर सारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
शिविरमा बोल्नु हुदै मन्त्री सारुले यसप्रकारको एकिकृत शिविरले जनतालाई सहज अनि प्रभावकारी ढंगले घरदैलोमै सेवा दिन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले आम नागरिकलाई बस्ती स्तरमै सरकारी र विशेषज्ञ सेवा प्रदान गर्नुले संघीयताको मर्म र भावनाको सम्वोधन भएको समेत उल्लेख गर्नु भयो । उहाँले सेवा दिनको लागि सेवाप्रदायक निकाय जनतासम्म पुग्नु पर्छ भन्ने मान्यतालाई यसप्रकारको शिविरले पूरा गर्ने बताउदै यस्तो अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।

सराईमा सम्पन्न शिविरमा स्वास्थ्य सेवा अन्तर्गत चिकित्सकद्वारा बिरामी परिक्षण, परिवार नियोजनको लामो अवधीको साधन ईम्प्लान्ट र IUCD सेवा, पाठेघरको मुखको क्यान्सर (VIA) परिक्षण, प्रजनन रुग्णता सम्बन्धी सेवा, ल्याब सेवा, आयुर्वेद स्वास्थ्य सेवा लगायत कृषि सम्बन्धी सेवा, पशु सम्बन्धी सेवा प्रदान गरिएको थियो । यस्तै जेष्ठ नागरिक सम्बन्धी सेवाहरुस् जेष्ठ नागरिक परिचय पत्र बितरण, जेष्ठ नागरिक सम्मान, बालमैत्री स्थानिय शासन प्रबर्द्धन, घटना दर्ता तथा योजना सम्झौता लगायतका गाउँ पालिकाबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु उक्त घुम्ति शिविरमा खटिएको टोलिबाटै प्रदान गरिएको थियो ।

सराईमा सञ्चालित उक्त शिविरबाट एक हजार बढी सेवा ग्राहीले विभिन्न प्रकारका सेवाहरु लिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी गराउनु भयो । एकिकृत घुम्ति शिविरबाट आफ्नै घरदैलोमा विभिन्न प्रकारका सेवाहरु लिन पाउँदा आफुहरु उत्साहित भएको र यस्तो शिविर समय समयमा सञ्चालन गरिरहनु पर्ने सेवा ग्राहीहरुले आग्रह समेत गरेका थिए ।

शिविरमा स्वास्थ्य सेवा तर्फ ३ सय ९९ जनाले स्वास्थ्य परीक्षण गराएकोमा ५९ जनाले दन्त परीक्षण, १ सय २५ जनाले पाठेघरको मुखको क्यान्सर (VIA) परिक्षण, ७४ जनाले ल्याव टेष्ट र ११ जनाले गर्भवती भिडियो एक्सरे सेवा लिएका थिए । यस्तै कृषि सेवा तर्फ १६६ जनाले सेवा लिएका थिए भने २ सय २७ जनाले पशुसेवासँग सम्बन्धित विभिन्न प्रकारका सेवाहरु लिएका थिए । सोही शिविरबाटै २ सय ८ जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको र ८ जनाले घरजग्गा सम्बन्धी सेवा लिएको वडाध्यक्ष तेज बहादुर घर्तीले जानकारी गराउनु भयो ।

यसअघि हिजो मात्रै माथागढी गाउँपालिकाको वडा नं. १ चिदीपानीमा पनि यस्तै घुम्ति सेवा सम्पन्न भएको थियो । उक्त शिविरबाट वडा नं. १ का ६ सय बढी सेवा ग्राहीले प्रत्यक्ष सेवा लिएको वडाध्यक्ष राजकुमार पन्थीले जानकारी गराउनु भयो ।

माघ ८ गतेसम्म सञ्चालन हुने यो घुम्ति शिविर अन्तर्गत माघ ६ गते वडा नं. ६ को वडा कार्यालय गोठादीमा, माघ ७ गते वडा नं. ७ को महेन्द्र नरेश मावि रहबासको मटेरीमा र माघ ८ गते माथागढी गाउँ पालिकाको कार्यालय झडेवाम सञ्चालन हुने पालिका प्रबक्ता शंकर दर्लामीले जानकारी गराउनु भयो ।
