तानसेन, पाल्पा । केविन झेडी मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेपाल मगर विद्यार्थी संघ पाल्पाको १४ औं जिल्ला अधिबेशन पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

समितिको उपाध्यक्षमा कल्पना बगाले मगर, सचिवमा दमन्ती थापा मगर, सह-सचिवमा भिम लुङगेली मगर र कोषाध्यक्षमा लिला सोमै मगर चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा सिर्जना घर्ती मगर, बिनिता राना मगर, एन्जि सोमै मगर, सुनिता खाम्चा मगर, उर्मिला सारु मगर र सपना बराल मगर रहनु भएको छ । संघको विद्यानमा २१ सदस्यीय कार्यसमितिको व्यवस्था भएकाले अन्य सदस्यहरु भौगोलिक क्षेत्रमिलाएर पछि मनोनित गरिने आयोजकले जनाएको छ ।

संघको १४ औं जिल्ला अधिबेशनका प्रमुख अतिथि नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य अमित रास्कोटी मगरले नेपाल मगर विद्यार्थी संघको औचित्य र आवश्यकताको बारेमा आफ्नो भनाई राख्नु भएको थियो । उहाँले नेपाल जस्तो बहुभाषिक र बहुसाँस्कृतिक मुलुकमा समाबेशी शिक्षा र बहुभाषिक विश्वविद्यालयको स्थापना अनिवार्य भएको बताउनु भयो । बिशिष्ट अतिथि नेपाल आदिवासी जनजाती महासंघ पाल्पाका अध्यक्ष गम बहादुर थापामगरले राज्यको सवै संरचनामा मगर समुदायको पहुँच स्थापित गर्न मगर विद्यार्थीहरुको भूमिका प्रमुख हुने बताउनु भयो । उहाँले मगर समुदायको विकास गर्न शिक्षालाई पहिलो प्राथमितामा राखेर अघि बढ्न मगर विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ पाल्पाका सल्लाहकार धन सिंह थापामगर, तेज घर्तीमगर, फोनिज पाल्पाका सल्लाहकार एवं नेपाल मगर पत्रकार संघका महासचिव देब पचभैयामगर, नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष रेखिराम रानामगर, नेपाल आदिवासी जनजाती महिला महासघं पाल्पाका अध्यक्ष भुनु कुमारी बरालमगर, नेपाल मगर संघ पाल्पाका अध्यक्ष शान्ति झेडीमगर र नेपाल मगर संघ पाल्पा जिल्ला सचिव देबु तङलामीमगर लगायतले मगर विद्यार्थी संघले खेलेको भूमिका तथा कामहरुको प्रशंसा गर्दै मगर समाज परिवर्तनको बाटोमा निरन्तर लागि रहन सवैलाई आग्रह गर्नु भयो ।

अधिबेशनले अध्यक्ष दुर्गा कुवरमगरले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष कल्पना बगालेले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन सर्वसम्मत रुपमा पारित गरेको थियो । संघका सदस्य भिम लुङ्गेलीमगरको स्वागत तथा सचिव केविन झेडीमगरको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता दुर्गा कुवरमगरले गर्नु भएको थियो ।