परिस्थितिमा खेल्न एकले अर्कालाई फुर्काएकै हुन्
सकिन्छ कि पेल्न बल खिचेर पाखुरा सुर्काएकै हुन् ।
कर्तुतहरु ज्यादा हुँदा पर्दाफास भएरै छोड्ने छन
भण्डाफोर हुने आशङ्कामा धाकले घुर्काएकै हुन् ।
मिल्छन्, निल्छन् नमिले चिल्छन् फाइल खोली हेर्दा
जालको माछालाई मौनताको संरक्षणमा हुर्काएकै हुन् ।
जग्गा, जिन्सी, जल, जन्तु जनशक्ति के के छन्
सबै चाख्न, स्वाद फेर्न भनी आवरण खुर्काएकै हुन् ।
करोड होइन, अर्बौं अर्बले वर्षौं वर्ष लगाएको बेला
महल ठडाएर त भान्सामा मेलम्ची तुर्काएकै हुन्
परिस्थितिमा खेल्न एकले अर्कालाई फुर्काएकै हुन्
सकिन्छ कि पेल्न बल खिचेर पाखुरा सुर्काएकै हुन्।