बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको मुख्यमन्त्री चेतनारायण आचार्य र स्वास्थ्य मन्त्री खेम बहादुर सारुले सयुक्त रुपमा उदघाटन गर्नु भयो ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री आचार्यले उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान गर्ने बताउनु भयो। प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनेगरी सरकारले कार्यक्रम बनाएको बताउँदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको महत्वपूर्ण योगदान जरुरी रहेको समेत औंल्याउनु भयो ।

यसैगरी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मात्र नभई सिङ्गो प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’को रुपमा रहेको उल्लेख गर्दै सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल परिवारले सामुहिक भावनाले काम गर्न निर्देशन दिनु भयो । प्रदेश सरकारले सबै स्वास्थ्य संस्थाहरुलाई नजिकबाट निगरानी राखेर मुल्याङ्कन गरिरहेको उल्लेख गर्दै मन्त्री सारुले आफ्नो जिम्मेवारीमा प्रतिवद्ध भएर सेवामा लाग्न आग्रह गर्नु भयो । मन्त्री सारुले अस्पतालमा बन्दै गरेको १२ तले अत्याधुनिक भवन निर्माणका कामलाई समयै सम्पन्न गर्नका लागि सरकारले आवश्यक निगरानी र सहजिकरणको काम गरिरहेको समेत जानकारी गराउनु भयो ।

अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सीमित श्रोत र साधनमा ठूलो जनसङ्ख्यालाई सेवा उपलब्ध गराउनु पर्ने चुनौती रहेको बताउँदै बिकास समितिले आवश्यक सुधार र व्यवस्थापनका लागि काम गरिरहेको उल्लेख गर्नु भयो । अस्पतालको सेवा बिस्तार तथा गुणस्तर सुधारका लागि आर्थिक अभावको चुनौती भोग्नु परिहेको बताउँदै सरकारले बीमा सेवा कार्यक्रम बापत उपलब्ध गराउनु पर्ने २२ करोड बढी रकम हालसम्म पनि उपलब्ध नगराउँदा समस्या सिर्जना भएको समेत उल्लेख गर्नु भयो । यसैगरी अस्पतालको आयश्रोत वृद्धिका लागि एमडी र विएससी नर्सिङ कक्षा सञ्चालन गर्ने योजनालाई छिटो कार्यान्वयनका लागि सरकारले सहयोग गर्न आग्रह गर्नु भयो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले अस्पताल प्रसुती सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष स्थापना भएपछि अब शल्यक्रियाका लागि पालो कुर्नुपर्ने विगतको समस्या ३३ प्रतिशत बढीले हल हुने जानकारी दिनु भयो । प्रसुती सेवातर्फ विशिष्टिकृत अस्पतालको रुपमा स्थापित गर्न थप गरिएको शल्यक्रिया कक्षले सहयोग गर्ने बताउँदै यस बाहेकका सेवामा समेत पालो कर्नुपर्ने अवस्थालाई उल्लेख्य मात्रामा कम गर्ने विश्वास व्यक्त गर्नु भयो ।
अस्पतालमा सेवा बिस्तार र गुणस्तर सुधारका लागि केही दिनमै अनलाइन भुक्तानी सेवा, क्यास काउन्टर तथा फार्मेसी सेवा बिस्तार, अनलाइनमै बिरामीले आफ्नो रिपोर्ट हेर्न पाउने व्यवस्था लगायतका सेवा सुचारु गर्ने योजनाहरु रहेको समेत जानकारी गराउनु भयो।
कार्यक्रममा उपस्थित लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव बासुदेव उपाध्यायले अस्पतालका विभिन्न कक्षहरुको अनुगमन तथा निरीक्षणपछि सुधारका लागि आवश्यक सहयोगको प्रतिवद्धता गर्नु भयो ।

अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८/०८१ मा ९ हजार ७६५ वटा शल्यक्रिया सेवा लिएकोमा ४ हजार ५४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएका मध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् ।
पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा शल्यक्रिया कक्ष बिस्तार गरेसँगै सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ ।