माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाँउपालिका वडा नं २ जल्पामा क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासको लागि आयोजना गरिएको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
दुई दिनसम्म संचालन भएको उक्त कार्यक्रमका शहजकर्ता अन्तर्राष्ट्रिय सामाजिक उत्प्रेरक बिकास देव योंन्जन तामाङले अर्थपूर्ण मानव जीवनको महत्व तथा यसले आफु स्वयम र समाजमा पार्ने प्रभावको बारेमा जानकारी दिदै सकारात्मक भाइब्रेशनले मात्र आफूसंग भएको ज्ञान सिप र दक्षताको पूर्ण प्रयोग गर्न सकिने बताउनु भयो । उहाँले अर्थ पूर्ण सफलता, उत्प्रेरणाको श्रोत र महिला शसक्तीकरणमा ९ वटा पि (P) को सिद्दान्त लगायतको बारेमा समेत प्रशिक्षण गर्नु भएको थियो । यस्तै हामीले कमिला र मौरीबाट समेत धेरै ज्ञान सिक्न सक्ने बताउदै दुनिया बदल्नको लागि पहिला आफू बदलिने अभियानको थालनी गर्नु पर्नेमा जोड दिनु भयो ।

कर्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाँउपालिका अध्यक्ष नुन वहादुर थापाले उदघाटन समारोहमा बोल्दै यो कार्यक्रमपछि सहभागीहरुको विचारमा सकारात्मकता आउनुको साथै हरेक विषयमा फराकिलो सोच राखेर सोच्ने बानीको विकास हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले महिलाहरुको सिमित बजेटबाट आयोजना गरिने शिर्जनात्मक र रचनात्मक हरेक काममा सहकार्य गर्न आफू सधैं तत्पर रहेको पनि उल्लेख गर्नु भयो ।

यस्तै समापन समारोहमा बोल्दै जल्पाका वडाध्यक्ष निर वहादुर सारुले जुनसुकै परिवर्तनको लागी सकारात्मक उपस्थितिले मात्र सफलता प्राप्त हुने बताउनु भयो । नेपाल मगर महिला सँघ केन्द्रीय अध्यक्ष हिरु सरा रानाले महिलाहरु मुल प्रवाहीकरणा पुग्नको लागि सचेतना जरुरी भएको उल्लेख गर्नु भयो । कार्यक्रममा सहभागी चन्द्रीसरा रखाल र धनमाया घर्तीले व्यवहारिक जीवनको लागि धेरै रचनात्मक र प्रभावकारी कार्यक्रम रहेको प्रतिकृया दिनु भयो ।

जल्पा महिला कल्याण परिवारले आयोजना गरेको यो कार्यक्रम महिला लक्षित कार्यक्रम अन्तर्गत गाँउपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा जल्पा वडाका महिला समुह प्रतिनिधी, स्थानीय संघ संस्था तथा सामाजिक ब्यक्तित्वहरु गरी सय जना बढीको उपस्थिति रहेको थियो । आयोजक संस्थाका सचिव टोल्सरी राईको संचालन र अध्यक्ष लिला राना सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।