रासस
सैनामैना, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–२ मा रहेको कालिका आधारभूत विद्यालयले आर्थिक अवस्था सुधार गर्ने उद्धेश्य सहित तरकारी खेती सुरु गरेको छ ।
विद्यालयको आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि विद्यालयले आर्थिक स्रोत जुटाउन तरकारी खेती सुरु गरेको जनाएको छ । विद्यालयले आफ्नै परिसरमा रहेको जग्गामा च्याउ खेती गरेर आर्थिक स्रोत जुटाउन पहल गरेको छ । विद्यालयकी प्रधानाध्यापक सीता घिमिरेले विद्यालयको आफ्नै जग्गामा च्याउ खेती सहित अन्य तरकारी खेती गरिएको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रप्रसाद शर्माले विद्यालयमा विषयगत शिक्षकको व्यवस्था हुँदा पनि विद्यार्थी भर्ना नहुने र पढ्न नआउने अवस्था रहेको भन्दै विद्यालयलाई आर्थिक रूपमा सबल बनाउन च्याउ खेती गरिएको बताउनु भयो ।
विद्यालयको स्रोत सुनिश्चित गर्न विद्यालयका शिक्षक आफैँ शनिबारको दिन तथा विद्यालय सकिएपछि साँझको समयमा च्याउ खेतीको व्यवस्थापन गर्दै आएको प्रधानाध्यपक घिमिरेले बताउनु भयो ।

एक महिनाअघिदेखि सुरु गरिएको च्याउ खेतीबाट विद्यालयले पहिलो चरणमा च्याउ बिक्रीसमेत सुरु गरेको छ । विद्यालयकी प्रधानाध्यापक घिमिरेले मागसमेत आएकाले आफूहरू उत्साहित भएको बताउनुभयो । उहाँले आफूहरूले उत्पादन गरेको च्याउ यहीँ रहेको कृषि उपज बिक्री केन्द्रले खरिद गरिदिने भएकाले बजारीकरणको समस्या नरहेको उल्लेख गर्नुभयो ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किताबी पढाइमा मात्रै नलगाई उनीहरूमा समाजप्रतिको दायित्व वृद्धि गराउने उद्देश्यले विद्यार्थीलाई समेत कृषि खेती गर्न प्रोत्साहन दिने उद्देश्य विद्यालयको रहेको छ ।
विद्यालयका सल्लाहकार विमल ज्ञवालीले पहिले पाठ्यक्रममै पूर्वव्यावसायिक, नैतिक शिक्षा, पाक शिक्षा जस्ता विषय पढाइ हुने गरे पनि पछिल्लो समय अङ्ग्रेजी माध्यमका कारण त्यो शिक्षा हराउँदै गएको अवस्थामा विद्यार्थीलाई पनि सिकाइ हुने र विद्यालयको आर्थिक अवस्थामा पनि सुधार ल्याउन यस किसिमको कृषिको अवधारणा ल्याइएको बताउनुभयो । विद्यार्थीलाई कृषि खेतीतर्फ अभिरुचि जगाउने उद्देश्य पनि विद्यालयले लिएको छ । विद्यालयले विद्यार्थीलाई देखाउँदै सिकाउँदै च्याउदेखि विभिन्न तरकारी खेती गरिएको जनाएको छ ।

विद्यालयको आफ्नै करेसाबारीमा आलु, मुलालगायतका तरकारी रोपिएको छ । जसबाट विद्यार्थीले व्यावहारिक रूपमा समेत कृषिका विषयमा धेरै प्राविधिक तथा व्यावहारिक ज्ञान पाउने विद्यालयको विश्वास छ । दरबन्दी अनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या परेको भन्दै विद्यालयले सरकारले थप शिक्षक नपठाएको र विद्यालयले समेत निजीस्तरको शिक्षक नियुक्त गर्न नसक्दा समस्या परेको जनाएको छ ।