बुटवल,रुपन्देही। लोकभजन संरक्षण गर्ने उद्धेश्य सहित बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा आयोजित लोकभजन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा बुटवल उपमहानगरपालिका १७ को मुक्तेश्वर शिव मन्दिर भजन समूह पहिला भयो। यस्तै बुटवल उपमहानगरपालिका १२ को परोपकार एकादशी भजन समुह दोस्रो, बुटवल ७ स्थित सिद्धेश्वर शिवालय मन्दिर भजन समुह तेस्रो र बुटवल ८ स्थित राधाकृष्ण मन्दिर भजन समूह सान्त्वना भए ।

विजेता तथा विभिन्न विधामा उत्कृष्ट हुने समूहलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने समुहलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार सहित प्रमाणपत्र प्राप्त प्रदान गरिएको थियो ।

प्रतियोगित कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले बिभिन्न जात जाति तथा समुदायसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको र सोही कार्यक्रम अन्तर्गत लोक भजन प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।

लोक संस्कृति जोगाउनु सबैको साझा दायित्व भएको बताउंदै उहाँले नयाँ पुस्तालाई लोक भजनमा आकर्षित गराउनु पर्नेमा जोड दिनु भयो । उहाँले लोक भजन हाम्रो संस्कृतिसँग जोडिएको बताउँदै लोपोन्मुखको अवस्थामा रहेको हाम्रो परम्परा देखिको लोकभजन जगेर्नाका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बुटवल नगरभित्रका २६ वटा भजन समूहको सहभागीता रहेको थियो ।