बुटवल,रुपन्देही । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारुले तीनै तहका सरकारहरु समन्वय र सहकार्यका साथ अपेक्षित दिगो विकासका लक्ष्यहरु हासिल गर्न सतही रुपमा नभएर योजनावद्ध रुपमा जनभावना अनुरूप लाग्नु पर्ने बताउनु भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेशमा दिगो विकासका लक्ष्यहरुको समिक्षा तथा समन्वयनात्मक कार्यक्रममा उहाँले उक्त भनाई व्यक्त गर्नु भएको हो । उहाँले ग्रामिण क्षेत्रमा डाक्टरहरु नहुने, सहरी क्षेत्रमा चाप हुने अवस्थाको अन्त्य गर्न नेपाल सरकारको छात्रवृत्तिमा पढेर डाक्टर हुने सबैलाई ग्रामिण क्षेत्रमा सेवाका लागि पठाएको समेत बताउनु भयो । मन्त्री सारुले नागरिकको मन छुनेगरी काम गर्न नसकिरहेको बताउँदै स्वास्थ्य क्षेत्रमा रणनीतिक सक्रियता बढाउनु पर्नेमा जोड दिनु भयो।

सञ्चार, पर्यटन, विद्युत, सडक लगाएतका क्षेत्रमा लगानी गरेर सरकारले राम्रो उपलब्धी हासिल गर्न सफल भएको भन्दै उहाँले विकास साझेदार संस्थाहरुले अली बढी काम र मेहेनत गर्नुपर्ने बताउनु भयो । दिगो विकासका लक्ष्यहरुको १० वटा सुचकहरु हासिल गरिसकेको र २१ वटा सुचकहरु हासिल गर्ने क्रममा रहनु सकारात्मक पक्ष भएको समेत उल्लेख गर्नु भयो ।

प्रथम चौमासिकमा स्वास्थ्य मन्त्रालयको २७ प्रतिशत पुँजीगत खर्च भएको भन्दै सबै मन्त्रालयहरु मध्ये स्वास्थ्य मन्त्रालय प्रथम भएको मन्त्री सारुले बताउनु भयो । मन्त्रालयले रोमिङ नर्सको परिकल्पना, पोषण र मानसिक स्वास्थ्यको सुधारका लागि योजना बनाएको र आगामी आर्थिक वर्षमा आवश्यकता र औचित्यको आधारमा बजेट निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेलले मानव विकास सुचकांक मापन गर्ने तरिका, नेपालको स्वास्थ्य क्षेत्रको विगत, वर्तमान र भविश्यको अवस्था, स्वास्थ्यमा वित्तिय दायरा वृद्धि, राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको कार्यान्वयन लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो ।

पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको समयानुकुल परिमार्जन तथा प्रभावकारी कार्यान्वयन, गुणस्तरिय स्वास्थ्य सेवामा समतामुलक पहुँच अभिवृद्धि, विविध समूहमा रहेको स्वास्थ्य सम्बन्धी असमानतालाई सम्बोधन लगाएतका विषयमा समेत सहजिकरण गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका सबै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख, हरेक जिल्लाबाट एक एक जना स्थानीय तहका प्रमुख लगाएतको सहभागिता रहेको थियो ।