प्रेम बगाले
बराङ्दी,पाल्पा । सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दी घिउसिबास सिद्धबाबा मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ शुरु भएकोे छ ।

महोत्सव उदघाटन सामरोहका प्रमुख अतिथि १००८ स्वामी बिबेकानन्दले यसप्रकारको महायज्ञले सिद्धबाबा धामको प्रचारप्रसार गर्न तथा धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुर्याउन सघाउने बताउनु भयो । यस्तै संघीय सांसद ठाकुर गैरे, प्रदेशसभा सदस्य बीर बहादुर राना, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक लगायतले यस प्रकारको महोत्सवले धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने बताउनु भयो ।

यस क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थल बनाउने उद्देश्य सहित सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल निर्माण र मन्दिरको चौतर्फी विकास गर्नुका साथै मन्दिर परिसरमै भव्य नागको विराट मूर्ति निर्माण गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक गणेश प्रसाद बस्यालले बताउनु भयो ।

मन्दिरमा तीन सय वर्ष अगाडिदेखि नै पूजाआजा हुँदै आएको र यस क्षेत्रमा निरन्तर नागदेवता,शव, विष्णु, भगवती लगायतका देवी देवताहरूको बासस्थान भएकोले भक्तजनको सेवा सुविधादेखि मन्दिदरमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि महायज्ञ गर्न लागिएको सिद्धवावा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिका अध्यक्ष मोहन अर्यालले बताउनु भयो ।

महायज्ञको औपचारिक शुभारम्भ अघि कलशयात्रा गरिएको थियो । माघ ९ गते सम्म सञ्चालन हुने यस महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद भागवत बाचन सहित देवलिला, जनचेतना मुलक नाटक, संगितमय भजन कृर्तन प्रस्तुत गर्दै हुनुहुन्छ ।

उदघाटन कार्यक्रम मुल आयोजक समितिका अध्यक्ष गणेशप्रसाद बस्यालको अध्यक्षता, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष मोहन अर्यालको स्वागत र महासचिव जीवलाल बस्यालको संचालनमा चलेको थियो ।