तानसेन, पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले अस्पतालको सेवा प्रवाह, बिरामीले पाएको सेवा तथा अस्पताल प्रशासनको अवस्था लगाएतका विषयमा पाल्पा अस्पतालको छड्के अनुगमन गर्नु भएको छ ।

अस्पतालको अनुगमन पछि मन्त्री सारुले पछिल्लो समय पाल्पा अस्पतालको विभिन्न विषयमा धेरै सुधार भएको उल्लेख गर्दै अझ थप सुधार गर्नु पर्ने पक्षहरु रहेको बताउनु भयो । उहाँले पाल्पा अस्पतालका बिरामीले बस्नुपर्ने लाईन, ल्याब सेवा, डाक्टर नर्सले दिने सेवा, अस्पताल प्रशासनको कार्यसम्पादन र सरसफाई लगाएतका क्षेत्रमा राम्रो हुँदै गएको बताउनु भयो ।

मन्त्री सारुले पाल्पा अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाह सुधारका लागि ५० लाख रुपैंया बजेट विनियोजन गर्नु भएको थियो । उहाँले त्यस सम्बन्धमा भईरहेको कामका बारेमा समेत जिज्ञासा राख्नु भएको थियो ।

पाल्पा अस्पतालबाट अझ धेरै सेवा विस्तार गर्ने विषयमा मन्त्रालयले योजना बनाएर काम गरिरहेको समेत उल्लेख गर्नु भयो । मन्त्री सारुले अस्पतालका बिरामीहरुको अवस्थाका बारेमा जानकारी लिँदै सेवा प्रवाहमा भएका गुनासोका बारेमा समेत जानकारी लिनु भएको थियो ।

पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले उक्त बजेटले ओपीडी सेवा विस्तार र अप्रेसन कक्ष निर्माण गर्ने योजना बनाएको जानकारी गराउनु भयो । त्यसका लागि स्टिमेट गर्ने कार्य भईरहेको र चाँडै निर्माण गरिने जानकारी दिनुभयो । उहाँले अस्पतालको श्रोत र साधनको उच्चतम प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाहमा अस्पताल विकास समिति लागिपरेको समेत बताउनु भयो । अध्यक्ष आत्रेयले अस्पतालको सेवा प्रवाह प्रति सर्वसाधारण नागरिकहरुको विस्वास बढ्दै गईरहेको बताउँदै अझ राम्रो गर्ने प्रयास गरिरहेको बताउनु भयो ।

यस्तै मन्त्री सारुले नेपाल नेत्र ज्योती संघद्वारा तानसेनमा सञ्चालित पाल्पा लायन्स लाकौल ऑखा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरुससँग पनि अन्तर्किया गर्नु भएको छ । छलफलमा उहाँले ऑखा अस्पतालले प्रदान गरिरहेको गूणस्तरीय सेवा प्रवाह, अस्पतालको स्तरोन्नती तथा अस्पताल व्यवस्थापन लगायतको विषयमा जानकारी लिनु भएको थियो ।