तानसेन, पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका कुल ३ सय १४ मुद्धा मध्ये १ सय ८७ मुद्धा फर्यौट गरेको विवरण सार्वजनिक गरेको छ । तानसेनमा आयोजित पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
फर्यौट मुद्धा मध्ये ८५ वटा ज्यान सम्बन्धी मुद्धामा २५ वटा फर्यौट भएको र ६० वटा बाँकी रहेका छन् । १२ जनालाई भने पक्राउ गरिएको छ । यस्तै आत्महत्याका ७४ वटा मुद्धा दर्ता भएकामा २४ वटा फस्र्यौट र ५० वटा बाँकी रहेको एसपी चन्दले बताउनु भयो । यस्तै सोही अवधिमा चोरी सम्बन्धिका ३६ वटा मुद्धा दर्ता भएकोमा ३५ वटा फर्यौट भएका छन् भने संगठीत अपराधतर्फ १९ वटा मुद्धा दर्ता भएकामा १६ वटा मुद्धा फर्यौट भएका प्रहरी प्रमुुख चन्दले जानकारी दिनु भयो । यस्तै सामाजिक अपराधतर्फ ३२ वटा मुद्धा दर्ता भएकोमा ३० वटा फर्यौट भएका छन् । महिला तथा बालबालिकातर्फ २१ वटा मुद्धा दर्ता भएकोमा शतप्रतिशत नै फर्यौट गर्न सफल भएको समेत उल्लेख गर्नु भयो । सवारी ज्यान सम्बन्धी २३ वटा मुद्धा दर्ता भएकोमा १७ वटा फर्यौट भएका छन् । यस्तै बैंकिङ कसुर, अपराधिक उपद्रवतर्फ २४ वटा मुद्धा दर्ता भएकोमा १९ वटा फर्यौट भएका छन् ।
२०८० फागुन ७ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रहरी प्रमुखका रुपमा आएका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधिका बारेमा जानकारी गराउनु भएको हो। एसपी चन्दले एक वर्षको अवधिमा धेरै उपलब्धी हासिल गर्न सफल भएको बताउनु भयो । उहाँले अबका दिनमा हरेक महिनामा मासिक प्रगति विवरण समेत सार्वजनिक गर्ने बताउनु भयो ।
कार्यक्रममा पत्रकारहरुले टिपरको टाइम कार्ड कार्यान्वयन हुन नसकेको, ट्राफिक व्यवस्थालाई चुस्त बनाउनुपर्ने, चेकजाँचलाई थप व्यवस्थित बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए । पत्रकारहरुबाट आएका सुझावहरुलाई आगामी दिनमा कार्यान्वयन गरेर जाने एसपी चन्दले प्रतिबद्धता व्यक्त गर्नु भयो।