तानसेन,पाल्पा। आत्म निर्णयको अधिकार र मगराँत स्वायत्तता हाम्रो आन्दोलन : सुशासन र संविधान रक्षाको लागि पाँचौं जिल्ला सम्मेलन भन्ने नाराका साथ मगर राष्ट्रिय मुक्ती मोर्चा जिल्ला संगठन समिति पाल्पाको पाँचौं जिल्ला सम्मेलन तानसेनमा सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपेन्द्र पुन (सिजल) ले अहिलेको व्यवस्था माओवादीले स्थापित गरेको बताउनु भयो। माओवादी आन्दोलनबाट नै समानुपातिक र समावेशीताको एजेण्डा स्थापित भएको बताउँदै उहाँले २० वर्ष अघि माओवादीले ल्याएका एजेण्डा अहिले स्थापित भएको उल्लेख गर्नु भयो । उहाँले संघीयता, दलित महिला र अन्य तल्लो तहका नागरिकको सत्तामा पहुँच पुर्याउने कार्यमा आफुहरुको भूमिका महत्वपूर्ण रहेको पनि बताउनु भयो ।

सम्मेलनले डिबी रानाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। जसको उपाध्यक्षमा ताराप्रसाद राना र थडबहादुर खाम्चा, सचिव सुशीला गाहा, सहसचिव चेतबहादुर उचै र सोमबहादुर थापा तथा कोषाध्यक्षमा श्यामकुमारी राना निर्वाचित भएका छन् ।
कार्यक्रममा माओवादी केन्द्रका नेता धन बहादुर पुन, माओवादी केन्द्रका पाल्पा इन्चार्ज नेत्र प्रसाद पाण्डेय, माओवादी केन्द्रका प्रदेश सचिव यज्ञ प्रसाद पोख्रेल, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, पाल्पा काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुम सुनारी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम सोमै लगायतले माओवादीका एजेण्डामा सरकार अघि बढे पनि त्यो धारणा जनजनमा पुर्याउनु अहिलेको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा मगर राष्ट्रिय मुक्ती मोर्चाकी केन्द्रीय उपाध्यक्ष लिला सोमैले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । श्याममाया रानाको स्वागत र तुलसा रानाको संचालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता जहर सिं सारुले गर्नु भएको थियो ।