तानसेन, पाल्पा । जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकासका लागि रम्भा गाउँपालिका पाल्पाले तानसेनमा सञ्चालन गरेको तीन दिने तालिम सम्पन्न भएको छ ।

तालिममा सकारात्मक सोंच, प्रशंसनीय दृष्टिकोण तथा व्यवहार, नेतृत्व सीप विकास, उत्प्रेरणा र मनोबल, नेतृत्वका लागि सञ्चार सीपको महत्व, स्थानीय तहको वित्तिय स्रोत र राजश्व अधिकारका क्षेत्रहरु, राजश्व सुधार कार्ययोजना, स्थानीय तहमा वित्तिय शुसासन, सम्पत्ति कर कार्यान्वयन र अभ्यास, संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध, जनप्रतिनिधी र कर्मचारी बीचको अन्तरसम्बन्धको बारेमा प्रशिक्षण गरिएको थियो ।

जीवन विज्ञान संस्थाका शंकर पोखरेल, एलडिटिएका जय कृष्ण श्रेष्ठ र पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतले शहजिकरण गर्नु भएको उक्त तालिममा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, योजना कार्यान्वयन, अनुगमन तथा मुल्यांकनमा जनप्रतिनिधीको भुमिका, मध्यमकालिन खर्च संरचना र यसको अन्य योजनासंगको अन्तरसम्बन्ध, बैठक माइन्यूट लेखन र निर्णय प्रक्रिया तथा स्थानीय तहमा सिफारीस प्रक्रिया लगायतको बारेमा समेत सिकाईएको गाउँपालिकाले जनाएको छ ।

प्रशिक्षणले गाउँपालिकाका कर्मचारी र स्थानीय जनप्रतिनिधीहरुलाई राजश्व संकलन गर्ने, योजना कार्यान्वयनमा सहजता आउने तथा स्थानीय तहमा काम गर्दा आएका समस्या समाधानमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनु भयो । उहाँले तालिममा सिकेका ज्ञान र सीपलाई गाउँपालिकाको विकास र कार्यसम्पादनमा प्रयोग हुने विश्वास लिएको समेत बताउनु भयो ।