रामपुर,पाल्पा । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहति यहि माघ १५ देखि २७ गते सम्म हुन गैरहेको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलाको विषयमा रामपुर उद्योग वाणिज्य संघले सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

मेलाको तयारीको विषयमा हाल सम्म भएका कार्यहरु बारे जानकारी गराउँदै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले उद्योग तथा व्यवसायलाई थप चलायमान गराउनुका साथै कालीगण्डकी उपत्यकाको पर्यटन प्रवर्धन, संघको निर्माणाधिन भवनलाई पूर्णता, घरेलु तथा कुटिर उद्योग, कृषिको उत्थान, याहाँ रहेका कला संस्कृतिको पनि जगेर्ना गर्नेुका साथै याहाँका व्यावसायिक सम्भावनाको उजागर गरी ठूला लगानी मैत्री वातावरण सृजना गर्नु चौथो उद्देश्य रहेको बताउनु भयो । यस पटकको महोत्सव रामपुर क्षेत्रमा ठूला लगानी कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित रहने समेत बताउनु भयो ।

रामतुलसी माविको खेल मैदानमा हुने मेलामा कृषि, हस्तकला, घरेलु तथा कुटिर उद्योग, स्थानीय खानाका परिकारलाई प्राथमिकता दिईने उहाँले प्रष्ट पार्नुभयो । करीब ३०० स्टल हुने जानकारी गराउदै स्थानीय व्यापारीहरुलाइ विभिन्न छुट सहित स्टल राख्न दिइने पनि बताउनु भयो । चार देखि पाँच करोड सम्म कारोबार गर्ने लक्ष्य लिएको उक्त महोत्सव सफल बनाउन ३२ वटा विभिन्न उपसमिति गठन गरिएको आयोजकले जानकारी गराएको थियो।

छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले आफ्‌ना सुझाव सहितका रायहरु व्यक्त गरेका थिए । रामपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक बासुदेव ढकालको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा हुन गैरहेको मेलाको विषयमा संघले चरणबद्ध रुपमा विभिन्न सरोकारवाला संग सुझाव संकलनका लागि छलफल तथा अन्तरक्रिया गर्दै आईरहेको छ ।