बराङ्दी, पाल्पा । सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित घिउसिबासमा यही माघ १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ हुने भएको छ ।

मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराईएको थियो छ । बगनासकाली गाउँपालिकाको उत्तरी क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थल बनाउने उद्देश्य सहित सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल निर्माण र मन्दिरको चौतर्फी विकास गर्नुको साथै मन्दिर परिसरमै भव्य नागको विराट मूर्ति निर्माण गर्ने उद्देश्य सहित धार्मिक महोत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक गणेश प्रसाद बस्यालले जानकारी गराउनु भयो ।

मन्दिरमा तीन सय वर्ष अगाडिदेखि नै पूजाआजा हुँदै आएको र यस क्षेत्रमा निरन्तर नागदेवता, विष्णु, भगवती लगायतका देवी देवताहरूको वासस्थान भएकाले भक्तजनको सेवा सुविधादेखी मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि महायज्ञ गर्न लागिएको मन्दिर संरक्षण समितिका अध्यक्ष मोहन अर्यालले बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष एवं महायज्ञ प्रचार–प्रसार संयोजक कमलराज तिमिल्सेनाले महायज्ञलाई सफल बनाउने जिम्मेवारी मिडियाहाउस तथा पत्रकारहरुको रहेकाले सूचना तथा सञ्चारका विषयमा आवश्यक सहयोग र सहकार्य गरेर जानुपर्नेमा जोड दिनु भयो।

महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद भागवत बाचन सहित देवलिला, जनचेतनामुलक नाटक, संगीतमय भजन कृर्तन कार्यक्रम रहेको छ । महायज्ञमा बिहान ७ बजेदेखि ९ बजेसम्म श्रीमद भागवत महापुराण, वेद, चण्डी पाठ, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण ,ग्रह शान्ति पुजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन, सहित पित्रीको फोटो राखी अर्पण लगायतका कार्यक्रम गरिनेछ । यस्तै महायज्ञमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संगीतमय कथा प्रवचन ,भजन किर्तन देवदेवताका लीलाहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।