रामपुर, पाल्पा। रामपुर नगरपालिका–६ पाल्पाको विजयपुरमा रहेको शालिकमा माल्यार्पण गरी ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस रामपुर पाल्पामा पनि मनाईएको छ ।

नेपाली सेनाको सलामी अर्पण पश्चात पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भुमिका कै कारण नेपाल वर्तमान अवस्थामा रहेको बताउनु भयो । शाहले दिनुभएको दिव्य उपदेश हालसम्म पनि जीवन्त रहेको उल्लेख गर्दै शाहले नेपालको भुगोलसँगै समुदायलाई एकतावद्ध गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले राष्ट्रिय एकता दिवस सबै जातजाति र भाषा संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण दिन भएको बताउनुभयो। ठकुरी दर्शन समाज रामपुरका अध्यक्ष केशर बहादुर खाँणले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भुमिका तथा इतिहास रक्षाका लागि कार्यक्रम गर्दै आएको बताउनु भयो ।

ठकुरी दर्शन समाज रामपुर नगर समितिको अगुवाईमा भएको कार्यक्रममा नेपाली सेनाको दि फेमस महिन्द्र दल गण तानसेनबाट आएको सेनाको एक टुकडीले सलामी अर्पण समेत गरेको थियो । त्यसअघि भेषभूषमा सजिएका ठकुरी समुदायका विभिन्न समूह र नेपाली सेनाले विजयपुर बजार, बुद्ध पार्क र्‍यालीसहित नगर परिक्रमा गरेको थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पदाधिकारी र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका अभियन्ताहरुको पनि सहभागीता रहेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको आयोजनामा तानसेनमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शालिकमा माल्यार्पणसँगै पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकार, स्थानीय व्यक्ति, जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा राप्रपा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य नारायण कोइरालाले मुलुक एकिकरण गर्न र देश विकासको चिन्तन गर्नमा दुई जना व्यक्ति सधै इतिहासमा रहिरहने बताउनु भयो । उहाँले पृथ्वीनारायण शाह र विपी कोइरालाको योगदानको चर्चा गर्दै यी दुई व्यक्तिलाई इतिहासमा सधै सम्झिने उल्लेख गर्नु भयो ।