तानसेन, पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाको आयोजनामा पाल्पाको तानसेनामा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ८ जना पत्रकारसहित हालै सम्पन्न पत्रकार महासंघमा निर्वाचित पदाधिकारी र जनप्रतिनिधीहरु पुरस्कृत र सम्मानित भएका थिए ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले राम्रो काम र कर्म गरेमा सम्मान हुने अवसर सवैको आउने बताउनु भयो । स्वास्थ्यमन्त्री सारुले विचार आ-आफ्नो भएपनि समाचार निष्पक्ष, बस्तुनिष्ट र सन्तुलित हुनुपर्नेमा जोड दिदै गलतलाई गलत हो भन्ने हिम्मत र साहस पत्रकारमा हुनुपर्ने बताउनु भयो।

यस्तै प्रेस चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्यले प्रेस चौतारी पाल्पा शाखा देशकै नमुना शाखा भएको र सबैलाई बाटो देखाउने काम गरेको बताउनु भयो । कार्यक्रममा प्रदेश साँसद राजु प्रसाद श्रेष्ठले अहिले मिस इनफरमेसन, डिस इनफरमेसन र फेक इनफरमेसनको कारण राजनितिक दल देखि पत्रकारहरुसम्मलाई चुनौतीको विषय बनेको बताउनु भयो। बरिष्ठ पत्रकार मेघराज शर्माले पाल्पाली पत्रकारिताको ऐतिहासिक पृष्ठभूमिको स्मरण गर्दै सबैले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनु भयो । जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टंकनाथ खनालले सबैपक्षले आत्म अनुशासनमा बसेर काम गरेमा देशले चाडै फड्को मार्ने बताउनु भयो ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा तुल बहादुर अधिकारीले स्थापना गर्नु भएको प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कारबाट कृष्ण पोखरेल, ओम बहादुर घर्तिमगरले स्थापना गर्नु भएको भद्र बहादुर स्मृति पत्रकारिता पुरस्कारबाट नारायण न्यौपाने, राम बहादुर राउतले स्थापना गर्नु भएको तुलसा/तुल बहादुर स्मृति पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी, द्धारिका प्रसाद नेपालले स्थापना गर्नु भएको सिता देवी स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट विजय वौडेल पुरस्कृत हुनु भयो ।

यस्तै विष्णु बहादुर कार्कीले स्थापना गर्नु भएको गिता स्मृति पत्रकारिता पुरस्कारबाट दयाराज न्यौपाने, राजेश कुमार अर्यालले स्थापना गर्नु भएको रेडियो पत्रकारिता पुरस्कारबाट गुणवती के.सी., राजु प्रसाद श्रेष्ठले स्थापना गर्नु भएको शेष कुमारी/लोक कुमारी पत्रकारिता पुरस्कारबाट खेमराज पाण्डे र विनोद श्रेष्ठले स्थापना गर्नु भएको पुतली देवी रुपनारायण स्मृति पत्रकारिता पुरस्कारबाट शोभाकान्त पाठक पुरस्कृत हुनु  भयो ।

प्रेस चौतारी पाल्पाले पत्रकारितामा निरन्तर सक्रिय रहेका पत्रकारहरुलाई बार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ । यसैगरी प्रेस चौतारीलाई संस्थागत रुपमा सहयोग गरेकोमा तानसेन नगरपालिकाका पुर्व नगर प्रमुख अशोक कुमार शाही, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा र रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीलाई पनि सम्मान गरेको थियो । यस्तै मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ पाल्पामा कमलराज तिमिल्सेनाको नेतृत्वमा निर्वाचित सबै पदाधिकारी, कार्यसमिती सदस्य र पाल्पाबाट प्रतिनिधीत्व गर्ने प्रदेश सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगर, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पाटीका दिलिप घिमिरे, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, लुम्विनी संचार समन्वय परिषदका अध्यक्ष यम गाहा मिलन, तानसेन नगरपालिकाका पुर्व प्रमुख अशोक कुमार शाही, प्रेस चौतारी इन्चार्ज राजेश कुमार अर्याल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल लगायतले पुरस्कृत र सम्मानितहरुलाई बधाई दिदै सबैले आ-आफ्नो जिम्मेवारी र भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको थियो।

पुरस्कार छनोट समितीका संयोजक एव निवर्तमान अध्यक्ष राजेन्द्र लिगलको स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।