दुम्कीबास, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ ।

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ । उहाँका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । जुन रुट अहिले चलिरहेको राजमार्ग भन्दा ५ किलोमिटर लामो पर्न जान्छ ।

त्यस्तै, ठूला सवारीसाधन ज्यामिरे पेट्रोलपम्प हुँदै सीजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को बाटो प्रयोग गरिएको छ । उक्त बाटो १८ किलोमिटर लामो पर्नजाने सीडीओ पोखरेलले बताउनु भयो । त्यस्तै, भाँचिएको पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराइएको छ । उक्त रुटबाट भने ६ पांग्रे सवारी साधन मात्रै ओहोरदोहोर भइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पूर्व नवलपरासीका डीएसपी जेशी शाहले अहिले सडक आंशिक रूपमा चलिरहेको जानकारी दिनु भयो । उहालै अहिले चिनियाँ इन्जिनियरको टोली पुलमा पुगेर अहिले अध्ययन गरिरहेको समेत जानकारी दिनु भयो ।

‘शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासमा पुल भाँचिदा यातायात नै अवरुद्ध भएको थियो । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो । भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको थियो ।