आरके थापा
वौघापोखराथोक, पाल्पा । लायन्सक्लव अफ पाल्पा, एरिया दुईको आयोजनामा सार्वजनिक प्राथमिक विद्यालय तानपा १२ वौघापोखराथोकमा निशुल्क दन्त परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ४५ जना विद्यार्थी, उनीहरुका अभिभावक र शिक्षकहरुको दन्त परीक्षण गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा तानपा १२ का वडाध्यक्ष मेजर सिं केसीले लायन्स क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्ने यस प्रकारका नियमित कार्यक्रमहरुबाट स्थानीय तहका जनताहरुले गाउँमै सेवा प्राप्त गर्न पाएको बताउनु भयो ।

यस्तै लायन्स क्लव अफ पाल्पाका अध्यक्ष समिरमान सिंहले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य बारे प्रकाश पार्दै क्लवले सामाजिक उत्तरदायित्व तथा नियमित कार्यक्रम अन्तर्गत विभिन्न स्थानहरुमा विविध कार्यक्रम र सहयोगहरु गर्दै आएको जानकारी गराउनु भयो । उहाँले स्थानीय तह र विभिन्न संघसथ्थाहरु सँगको समन्वय र सहकार्यमा स्वास्थ्य शिविर, छात्रबृत्ति वितरण र अन्य विभिन्न पक्षमा सहयोग गर्ने लगायतका कार्यक्रमहरु सम्पन्न गरेको उल्लेख गर्नु भयो ।

एभरेष्ट डेन्टल क्लिनिक वडिज्ञानटोल र मिलन दन्त उपचार केन्द्र टक्सार पाल्पाको प्राविधिक सहयोगमा सञ्चालित उक्त दन्त परीक्षण कार्यक्रम सफल बनाउन सहयोग गर्ने सवै पक्षहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपाल र डा. कृति आचार्यले धन्यबाद दिनु भयो ।

गाउँकै विद्यालयमा यस प्रकारको सेवा पाएकोमा विद्यार्थी भाईबहिनी तथा अभिभावकहरु खुशी भएको र दन्त परीक्षण कार्यक्रमको आयोजना गर्नु हुने लायन्स क्लवको टिमलाई विद्यालयले सम्मान पत्रले सम्मान गरेको विद्यालयका प्रधानाध्यापक राम कुमारी थापाले बताउनु भयो ।

कार्यक्रममा पाल्पा लायन्स क्लव अफ पाल्पाका पूर्व अध्यक्षहरु लायन सुजिल प्रधान, लायन शशि श्रेष्ठ, लायन सिता बस्नेत, द्धितीय उपाध्यक्ष अजय बहादुर श्रेष्ठ, विनायक महर्जन, डा. प्रतिमा जिसी, विना श्रेष्ठ र वडा सचिव मञ्जु आचार्य लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।