प्रेम बगाले
बगनासकाली, पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र बगनासकाली गाउँपालिका पाल्पाको समन्वयमा किसानलाई हाते ट्रयाक्टर र पावर ट्रिलर मर्मत सम्बन्धी १५ दिने तालिम बगनासकाली गाउँपालिकामा सुरु भएको छ ।
स्थानीय तहले वर्षेनी हाते ट्रयाक्टर र पावर ट्रिलर वितरण गर्दै आएता पनि बिग्रेर प्रयोग बिहीन हुँदा समस्या बढ्दै गएकाले किसानलाई मर्मत तालिम दिइएको उद्घाटन समहारोहका प्रमुख अतिथि एवम् गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । गाउँमै मर्मत गर्न सक्ने भएपछि बजार लैजानुपर्ने बाध्यता हटेर जाने उपाध्यक्ष पाठकको उल्लेख गर्नु भयो। मर्मतमा धेरै खर्च हुने भएकाले उक्त खर्चलाई जोगाउन तालिममा सिकाइने सीप प्रभावकारी हुने घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका ३ नम्बर वडाका अध्यक्ष एवम् प्रवक्ता टिकाबहादुर थापा, १ नम्बर वडाका अध्यक्ष शेरबहादुर चिदी, ६ नम्बर वडाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, मेडपा फोकल पर्सन प्रेमबहादुर बगाले, कृषि प्राविधिक किशोर कुमार खत्री, प्रशिक्षक मोतीराज खनाल लगायतले कृषकलाई मेसिन मर्मत गर्न सिकाएर बिग्रेका हाते ट्रयाक्टर सञ्चालन गर्न सकेमा कृषकहरूलाई सहज हुने बताउनु भयो ।
तालिममा बगनासकाली गाउँपालिका भित्रका सवै वडा, रिब्दीकोट गाउँपालिका र तानसेन नगरपालिकाबाट गरी २१ जना कृषक सहभागी रहेको बगनासकाली गाउँपालिकाका मेडपा फोकल पर्सन प्रेम बहादुर बगालेले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षता र उद्यम विकास सहजकर्ता मनोज घिमिरेको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।