चिर्तुङ्गधारा, पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङ्गधारा पाल्पामा स्थानीय करदाता तथा सरोकारहरुका लागि कर सङ्कलन तथा सचेतना अभिवृद्धि तालिम सम्पन्न भएको छ । बगनासकाली गाउँपालिकाको आयोजनामा सञ्चालित तालिमको शहजिकरण गाउँपालिकाका आन्तरिक लेखा परीक्षक यादव प्रसाद न्यौपाने र राजस्व शाखा प्रमुख इन्द्र बहादुर थापाले गर्नु भएको थियो । तालिममा स्थानीय तहमा राजस्व सङ्कलन प्रक्रिया, बहाल विरौटी कर सङ्कलनको प्रक्रिया, करका दायरा, नयाँ कर लागु गर्दा हुने कठीनाई, सङ्कलन गरिएको राजस्व परिचालनको प्रभावकारिता लगायतका विषयमा जानकारी गराईएको थियो । उहाँले गाउँपालिकाले सबै वडामा र करदाता सेवा कार्यालयको संलग्नतामा गाउँपालिकाको पायक पर्ने अन्य दुई स्थानमा करदाता शिक्षा सहितको कार्यक्रम सञ्चालन गर्ने योजन रहेको समेत जानकारी बताउनु भयो ।

तालिम उद्घाटन समारोहमा बोल्दै राजस्व परामर्श समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले कर सङ्कलन, विधि, प्रक्रिया र दायराका बारेमा सरोकारवाले चासो राख्नु पर्नेमा जोड दिनुभयो । उहाँले कर सङ्कलन र सङ्कलित करको उचित परिचालनको लागि सरोकारवालाले प्राप्त गरेको ज्ञानलाई समुदायका अन्य सरोकारवालाहरूमा समेत लैजान र कार्यस्थलमा लागु गर्न आग्रह गर्नु भयो।

स्थानीय करदाता, जनप्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको तालिम बगनासकाली गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शेर बहादुर चिदीको अध्यक्षता सम्पन्न भएको थियो।