एवत सारु
रम्भा, पाल्पा । रम्भा गाउँपालिकामा सञ्चालित १६ औं राष्ट्रपति तथा ६ औं रम्भा गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता रम्भा माध्यमिक विद्यालय रम्भा ५ ताहुँमा सम्पन्न भएको छ ।

प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ३ कास्य पदक गरी २३ पदक सहित अमृत पब्लिक माध्यमिक विद्यालय रम्भा ३ अंगाहाखोला पहिलो भयो । यो सँगै रम्भा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा अमृत पब्लिक मावि  छैठौं पटकसम्म लगातार पहिलो भएको हो । यस्तै ४ स्वर्ण, २ रजत तथा ६ कास्य पदक गरी १२ पदक सहित कृष्ण माध्यमिक विद्यालय रम्भा ३ झेस्काङ्ग दोश्रो तथा २ स्वर्ण, ३ रजत र ८ कास्य गरी १३ पदक सहित सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोक्सिङ्गकोटले तेश्रो स्थान प्राप्त गरेको छ ।

यसैगरि रम्भा मावि ताहुँले २ स्वर्ण, २ रजत तथा १ कास्य, रविकिरण मावि रम्भा ५ पिपलडाँडाले १ स्वर्ण ६ रजत र ४ कास्य, जनकल्याण मावि रम्भा १ हुँगीले १ स्वर्ण २ रजत र २ कास्य, कालीगण्डकी गुरुकुलम रम्भा १ हुँगीले १ स्वर्ण २ रजत र १ कास्य पदक हासिल गरेको छ । कृष्णगण्डकी मावि रम्भा १ हुँगीले ३ रजत तथा जनहित भगवती मावि रम्भा ४ हुमीनले १ रजत र २ कास्य पदक प्राप्त गरेका छन ।

खेलकुद प्रतियोगिता समापन समारोहमा विजयी खेलाडीहरुलाइ पुरस्कार वितरण गर्दै प्रमुख अतिथि रम्भा गाउँपालकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले खेलकुदले अनुुशासन, सामाजिक सद्भावका साथै खेलाडीको मानसिक तथा वौद्धिक विकासमा ठुलो टेवा पुग्ने बताउनु भयो । उहाँले रम्भा गाउँपालिकाले खेलकूद विकासको लागि सदैव उच्च प्राथमिकता दिएको समेत बताउनु भयो ।

कार्यक्रममा रम्भा गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, शिक्षा शाखा प्रमुख मीनादेवी आचार्य, आयोजक विद्यालयका प्रधानाध्यापक एवं खेल संयोजक कमल बस्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

रम्भा गाउँपालिका अन्तर्गतका ९ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगितामा भलिबल, कबड्डी, शटपुट, ज्याबलिन थ्रो, लङ जम्प, हाइ जम्प, त्रिपल जम्प, रिले दौड लगायतका विभिन्न २१ विधामा प्रतियोगिता भएको थियो ।

रम्भा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चाल भएको ३ दिने खेलकूद प्रतियोगिताको समापन कार्यक्रममा खेल सञ्चालनमा सहयोग गर्ने शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । समापन कार्यक्रम खेलकुद प्रशिक्षक प्रकाश श्रेष्ठको संचालनमा भएको थियो।