भुवन सिंजाली
देवीनगर, पाल्पा । मातृभूमि माद्यमिक विद्यालय पुर्वखोला-४ देवीनगर पाल्पाको स्काउट ट्रुपका विद्यार्थीहरुको प्रथम दिक्षान्त समारोह सम्पन्न भएको छ। दिक्षान्त समारोहमा स्काउटका विद्यार्थीहरुलाई स्काउट दर्जा लोगो चिन्ह वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउँ शिक्षा समितिका सदस्य भुवन सिंजालीले स्काउटका विद्यार्थीहरुलाई स्काउटका मुल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै निस्वार्थ भावनाका साथ मानव सेवा र सामाजिक परिवर्तनामा लाग्न अनुरोध गर्नु भयो । उहाँले स्काउटलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो तर्फबाट आवश्यक पहल गरिदिने समेत बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर मश्राङ्गिले स्काउटले विद्यार्थीलाई अनुशासित, लगनशील, मेहनति र कर्तव्यनिष्ठ बनाउने भन्दै स्काउट सुरु भए देखि विद्यार्थीहरुमा पढाइ एवं अनुशासनमा सुधार आउनुका साथै विभिन्न कार्यक्रममा सहभागीता समेत बढेकोले स्काउटलाई निरन्तरता दिने बताउनु भयो । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हुम बहादुर सिंजालीले स्काउटका विद्यार्थीलाई निरन्तर रुपमा स्काउटको कार्यक्रम कोषमा सहभागी हुन अनुरोध गर्दै शुभकामना दिनुभयो ।

मातृभूमि माद्यमिक विद्यालयमा छात्रछात्रा गरि ६४ जनाले स्काउट प्रशिक्षण लिईरहेका छन् । दिक्षान्त समारोहमा स्काउटका विद्यार्थीहरुले पिटि नाच समेत प्रस्तुत गरेका थिए । उक्त स्काउट दिक्षान्त समारोह कार्यक्रम स्काउट प्रशिक्षक शिक्षक बल बहादुर थापाको सञ्चालन तथा विद्यालयका प्रअ पितम प्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न भएको हो।