बौघापोखराथोक, पाल्पा । सामाजिक उत्तरदायित्व अन्तर्गत ज्ञानेन्द्र अटो वर्क्स (यामाहा शोरुम) भिमसेन टोल तानसेन पाल्पाले तानसेन नगरपालिका वडा नं. १२ बौघापोखराथोकको सार्वजनिक प्राथमिक विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

उक्त अटो वर्क्सका डाइरेक्टर द्वय बिरेन्द्र काजी शाक्य र ज्ञानेन्द्र काजी शाक्य तथा व्यवस्थापक विवेक काजी शाक्य स्वयम विद्यालयमा उपस्थित भएर विद्यार्थीहरुलाई जाडोमा लगाउने स्विटर र टोपी लगायतका कपडा वितरण गर्नु भएको हो ।

कपडा वितरण गर्नु हुदै विरेन्द्र काजी श्रेष्ठ र विवेक काजी श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतका वर्षहरुबाटै आफुहरुले यस्तै प्रकारका विभिन्न सेवामुलक कार्यहरु गर्दै आएको बताउनु भयो ।

यस्तै उक्त कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. १२ का वडाध्यक्ष मेजर सिं केसीले विगत लामो समय देखि पाल्पाको तानसेनमा ज्ञानेन्द्र अटो वर्क्स सञ्चालन गरेर स्थापित हुनु भएका सञ्चालकहरुले आफ्नो वडाको विद्यालयमा यसरी सहयोग गर्नु भएकोमा धन्यबाद ज्ञापन गर्नु भयो ।

विद्यालयका भाईबहिनीलाई न्यानो कपडा उपलब्ध गराएर सहयोग गर्ने ज्ञानेन्द्र अटो वर्क्सका सञ्चालकलाई विद्यालयले सम्मान पत्र सहित सम्मान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्रअ राम कुमारी थापाले गर्नु भएको थियो ।