खुमबहादुर पौडेल
हुमिन, पाल्पा । सामुदायिक सिकाइ केन्द्र रम्भा गाउँपालिका-४ हुमिन पाल्पाको बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा सिकाई केन्द्रका सचिव भोज बहादुर बिकले संस्थाको विविध पक्षको जानकारी गराउदै आम्दानी खर्चको विवरण प्रस्तुत गर्नु भयो । सदस्य चेतनारायण श्रेष्ठले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सिकाई केन्द्रको बिद्यमान अवस्था, सबल पक्षहरु, संस्थाका चुनौतीहरु र आगामी रणनीतिका बारेमा प्रकाश पार्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि रम्भागाउँ पालिकाका प्रबक्ता तथा वडा नं. ४ हुमिनका वडाध्यक्ष कृष्ण बहादुर रायमाझीले सामाजिक समस्या पहिचान र न्यूनीकरण तथा समुदायको चेतना अभिबृद्धिमा सामुदायिक सिकाइ केन्द्रले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । ४ नं. वडा कार्यालयका सहायक मिलन काफ्लेले सिकाइ केन्द्रको माध्यमबाट साक्षरता कक्षा संचालन देखि व्यावसायिकता र उद्यमशीलताको कार्यक्रम समेत चलेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य बेनी बहादुर दिशा, महिला सदस्य बिष्णुमाया पौडेल, समाजसेवी मानध्वज श्रेष्ठ, धन बहादुर सिजापती, नर बहादुर सारु र गाउँ बिकास कार्यक्रमका अध्यक्ष होमनाथ पौडेल लगायतले शुभकामना दिदै सिकाइ केन्द्रले गर्दै आएको सकारात्मक अभ्यासको प्रशंसा गर्नुभयो ।

शान्ति आधारभूत बिद्यालय रम्भा ४ हुमिनका प्रधानाध्यापक अञ्जु खनालले सहजीकरण गर्नुभएको कार्यक्रममा सिकाइ केन्द्र अन्तर्गतका ६६ जना सदस्यहरुको उपस्थिति रहेको थियोे । सिकाइ केन्द्रको तेस्रो अधिवेशनले खुमबहादुर पौडेलको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।