रैनादेवी, पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं. ४ छहरा मेहालढापको महाकाली माध्यमिक विद्यालयले हात पारेको छ । महाकाली माविले ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी १६ पदक जिती उपाधि चुम्न सफल भएको हो ।
यसैगरी प्रतियोगितामा गंगा मावि वडा नं २ ताङसिगल द्धितिय भएको छ। गंगा मा।वि।ले ५ स्वर्ण, ३ रजत ५ कास्य गरी १३ पदक हासिल गरी द्धितिय स्थान बनाएको हो । यसैगरी भैरव नवदिप मा।वि। वडा नं. ४ छहराले ४ स्वर्ण, ६ रजत ४ कास्य गरी १४ पद जिति तेस्रो भएको छ । प्रतियोगितामा गौरादेवी माविले ३ स्वर्ण १ रजत र ४ कास्य गरी ८ पदक जिती सान्तवना पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा १२ माध्यमिक, २ वटा आधारभुत गरी १४ वटा विद्यालयका ३२४ जना विद्यार्थीहरु विभिन्न खेलमा सहभागी भएका थिए । गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगितामा छात्र, छात्रातर्फ, भलिवल, कवड्डी, एथेलेटिक्स तर्फ एक सय मिटर, दुई सय मिटर, आठ सय मिटर र १५ सय मिटर सम्म दौड, फिल्ड तर्फ हाईजम्प, लङ्ग जम्प, त्रिपल जम्प ज्यावलिङ्ग थ्रो लगायतका खेलहरु भएका थिए । पुस १४ गते देखी १६ गते सम्म सञ्चालन भएको प्रतियोगिता वडा नं. ५ को कटौजेपानी पालिकास्तरीय खेलमैदानमा भएको थियो ।
प्रतियोगितामा विजयी विद्यालय तथा खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियार, शिक्षा शाखा प्रमुख तेज कुमाल, सामाजिक विकास संयोजक प्रदिप पौडेल लगायतले राष्ट्रपति रनिङ शिल्ड, ट्रफी, प्रमाणपत्र लगायतका पुरस्कार वितरण गर्नु भयो । पालिका स्तरमा उत्कृष्ट भएका खेलाडीहरु जिल्ला स्तरमा, जिल्ला स्तरमा उत्कृष्ट भएकालाई प्रदेशस्तरमा र प्रदेशमा उत्कृष्ट भएकालाई राष्ट्रिय स्तरमा सञ्चालन गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता हुनेछन ।