तानसेन, पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले पत्रकारिताको विगत, वर्तमान र भविष्यको विषयमा छलफल तथा अन्तरक्रिया गरि आफ्नो ३४ औं स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा वक्ताहरुले पत्रकारहरुले सत्य, तथ्य, बस्तुनिष्ट, सन्तुलित भएर दलिय आस्था भन्दा माथि उठेर समाचारहरु दिनुपर्ने र सोही अनुसार मिडिया हाउसहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । स्थापना दिवसमा प्रमुख अतिथि पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष, बरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले मिडियाहाउस र पत्रकारको अवस्था दिनहुँ संकटमा पर्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले समानुपातिक विज्ञापन वितरण भए मात्र जिल्लामा जिल्लामा सञ्चालित मिडियाहरु दिगो रुपमा सञ्चालन हुने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेस सभा सदस्य एवं पुर्व मन्त्री विर बहादुर रानाले मुलुक भयावह अवस्थामा गुज्रिरहेकाले पत्रकारहरु व्यक्तिगत स्वार्थ र दलिया आस्था भन्दा माथि उठेर पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिनु भयो । पूर्व सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता यादवबहादुर रायमाझीले अहिले सूचनाहरु सामाजिक सञ्जालबाट त छिटो छिटो पाएका छौ तर कुन सहि कुन गलत छुट्टाउन जनतालाई कठिन हुने गरेकाले यस्ता गलत सूचनाहरुलाई रोक्न पत्रकारहरुको अहम भुमिका हुने उल्लेख गर्नु भयो । स्थापना दिवस कार्यक्रममा महासंघका पुर्व अध्यक्षहरु गोविन्द भट्टराई र झपेन्द्र गहिरेले पत्रकार महासंघ स्थापनाकाल देखि हालसम्म आउँदा कठिनाई, चुनौती, अवसर, सहकार्य, समाज विकासमा खेलेको भुमिकाको बारेमा चर्चा गर्नु भयो ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष भगवान भण्डारीले जनप्रतिनिधी विहिनको अवस्थादेखि सरकार र तत्कालीन विद्रोही माओवादीको समयमा दुवैपक्षलाई मानवअधिकार रक्षाको लागि खेलेको भुमिका, जिल्लाको विकास निर्माणमा राजनितिक दल, निजी संघ संस्था तथा सरकारी निकाय बिच समन्वय गरी गरेका कामहरुको बारेमा चर्चा गर्नु भयो । पत्रकार महासंघका पुर्व अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारिताको विगतको अवस्था, वर्तमान अवस्थामा सामाजिक सञ्जालले पारेको असर, भोलिका दिनमा एआई ले पार्ने प्रभावको बारेमा चर्चा गरे ।
कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकार महासंघले खेलेको योगदानको चर्चा गर्दै समाजलाई मर्यादित, जिम्मेवारयुक्त बनाउन , सत्य, तथ्य, निष्पक्षमा आधारित पत्रकारिता जरुरी रहेको बताएका थिए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्ति न्यौपानेको स्वागत, उपाध्यक्ष बन्दना पोखरेलको धन्यवाद ज्ञापन र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।