एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोक्सिङ्गकोटमा अध्ययनरत विद्यार्थीहरुको रक्त अल्पता सम्बन्धी परीक्षण सम्पन्न भएको छ ।
सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता परीक्षण कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा स्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोगमा परीक्षण कार्यक्रम सम्पन्न गरिएको हो । परीक्षणमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत ५९ जना छात्राहरुको रगत परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत लेखनाथ अर्यालले बताउनु भयो ।
परीक्षणमा ३ जना छात्रा विद्यार्थीको हेमोग्लोबिनको मात्रा थोरै देखिएकोले साग तथा गेडागुडी खान सल्लाह दिइएको छ । रगतमा १२ देखि १६ ग्राम हेमोग्लोबिन उपलब्ध हुनुलाई सामान्य मानिन्छ भने सो भन्दा कमी भएमा रक्त अल्पता भएको भनिन्छ । परीक्षण कार्यक्रममा विद्यार्थीको उचाई तथा तौल समेत मापन गरिएको थियो ।