माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाउँपालिका जल्पा पाल्पाको नौमती पञ्चेबाजा समुह र सिन्धुलीको कलाघर समूहले मितेरी साइनो जोड्दै अन्तर्किया र अनुभव साटासाट गरेका छन् ।

नौमति पञ्चेबाजा सहित सिन्धुली पुगेको ४१ जना जल्पाली भ्रमण टोलीले सिन्धुलीको कलाघरमा यो अन्तर्किया गरेका हुन । प्रकृती र उद्देश्य उस्तै भएका जल्पाली पञ्चेबाजा समूह र सिन्धुलीको कलाघर समूहले आ-आफ्नो अनुभव साटासाट गर्दै एक आपसमा भातृत्वको भावना बढाउने गरी मैत्रीपूर्ण भेटघाट गरेका थिए । चमत्कारीक कला प्रदर्शन गर्नु हुने सिन्धुली कलाघर समुहकी सहनाईवादिका सञ्चिता चुम्मी मगर र पबित्रा रम्टेलको प्रस्तुतिले आफुहरु मोहित भएको जल्पाली पञ्चेबाजा समूहका अध्यक्ष रनबिर बरालले बताउनु भयो ।

कलाघरमा दुवै पक्षका पञ्चेबाजा समूह नौमति पञ्चेबाजामा दोहोरी खेल्दै आ-आफ्ना समूहको कला प्रस्तुत गरेका थिए । बिश्वको सबै भन्दा ठुलो मादल, सांरगी, सहनाई र बासुरी लगायतका संगितका सामाग्री कलात्मक रुपमा सजाएर राखेको उक्त कलाघर समूहले नेपालको झण्डा आकृतीको जग्गा खरिद गरी राष्ट्रिय कलाघर र कलाआश्रम बनाउने अभियानमा समेत लागिपरेको अध्यक्ष सुमन थापा मगर (नेपाली बाबु) ले जानकारी दिनु भएको थियो ।

यो भ्रमणबाट आफुहरुले सिर्जनात्मक ढंगले पाहुनाको स्वागत सत्कार गर्ने कला तथा थोरै संख्याको समूहमा समेत गुणात्मक परिणाम दिने गरी काम गर्न सकिने जानकारी पाएको भ्रमणटोलीका अगुवा समेत रहनु भएका रनबीर बरालले बताउनु भयो । यस्तै सहनाई लगायत नौंमतिका सबै बाजा महिला पुरुष सबैले सिक्न सकिने, युवाहरुको धर्यता, पर्खाई र त्याग एवं मिहिनेतले सफलता पाउन सकिने तथा सबै चिज पैसासंग तुलना गर्न नहुने शिक्षा पाएको समेत उहाँले उल्लेख गर्नु भयो।

नाचेर बाजा बजाएर युवाहरुले के गर्लान र भन्ने समाजलाई आफुहरुले गरेर देखाएको उल्लेख गर्दै कलाघरका अध्यक्ष सुमन थापाले चुनौतीहरु धेरै भएपनि धर्यताका साथ निरन्तर अघि बढेमा सफलता प्राप्त गर्न सकिनेमा आफुहरु विश्वस्त रहेको बताउनु भयो । अन्तर्कियामा जल्पाली पञ्चेबाजा समूहका अध्यक्ष रनबिर बरालले आफुहरु पनि कला मार्फत पर्यटन क्षेत्रको बिकास गर्न र कम्तिमा १० जना युवालाई गाउँमै स्वरोजगार बनाउने लक्ष्य सहित अघि बढिरहेको जानकारी गराउनु भयो ।

सिन्धुली कलाघरलाई जल्पाली पञ्चेबाजा समूहले जल्पाबाट लगेको नाङ्लो, खरायोको जोडि र बासुरी उपहार दिएको थियो । यस्तै कलाघरको थप स्तरउन्नतीका लागि भनी १५ हजार नगद सहयोग समेत गरेका थिए । यसप्रकारको भ्रमण र अन्तर्कियाले दुवै समूलाई सिक्ने र सिकाउने अवसर प्राप्त भएको भन्दै दुवै समूहका सदस्यहरु खुशी भएका थिए ।