तानसेन, पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको आयोजनामा लुम्बिनी प्रदेश समिति र पाल्पा शाखाबिच परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गएको मंसिर २८ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित प्रदेश समिति र पाल्पा शाखाबिच महासंघ र पत्रकारिताका विषयमा अन्तर्किया भएको हो । अन्तरक्रिया कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईले महासंघको गरिमालाई कायम राख्ने गरि प्रदेश समितिले काम गर्ने बताउनु भयो । उहाँले जिल्ला शाखाहरुलाई सँगसँगै लिएर प्रदेशको पत्रकारिता क्षेत्रको विकासमा लाग्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा महासंघ पाल्पाका पूर्व अध्यक्ष झपेन्द्र गहिरेले पाल्पाली पत्रकारिताको इतिहासका बारेमा जानकारी गराउँदै पत्रकारहरुको हितमा सक्रिय भएर लाग्न महासंघलाई आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विक, प्रेस चौतारीका पाल्पा अध्यक्ष कृष्ण कार्की, नेपाल प्रेस युनियन पाल्पाकी अध्यक्ष मन गहिरे लगायतले रचनात्मक ढंगले पत्रकारिताको विकासमा लाग्न महासंघको नयाँ नेतृत्वलाई आग्रह गरेका थिए ।

महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेको स्वागत तथा सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । महासंघ पाल्पा शाखाले प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइँको नेतृत्वमा आएको टोलीलाई पाल्पाली ढाका टोपी र ढाकाको पर्सले सम्मान तथा स्वागत गरेको थियो ।

नव निर्वाचित नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले अहिले लुम्विनी प्रदेश भित्रका जिल्ला शाखाहरुसँग परिचयात्मक कार्यक्रम गरिरहेको छ । यसै क्रममा पाल्पा शाखासँग पनि उक्त अन्तर्किया कार्यक्रम सम्पन्न गरेको हो । हालसम्म पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी र प्यूठान लगायतका जिल्लाहरुमा यस प्रकारको कार्यक्रम सम्पन्न भएको र लुम्विनी प्रदेशका बाँकि जिल्लाहरुमा पनि सञ्चालन हुने लुम्विनी प्रदेश सदस्य दिल बहादुर गाहाले जानकारी दिनु भयो ।
