देवीनगर, पाल्पा । जनप्रिय प्रावि पूर्वखोला ४ देवीनगर पाल्पाको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

देवीनगरको मंगलामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मातृभूमि मावि देवीनगरका प्रअ पितम बस्यालले विद्यालयको सर्वपक्षीय सुधारको लागि शिक्षक अभिभावक र विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई प्राथमिक तहबाटै व्यवहारिक ज्ञान समेत सिकाउदै गएमा शिक्षण सिकाई थप प्रभावकारी हुने बताउनु भयो ।

यस्तै देवीनगरका वडासदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य रविन श्रेष्ठले विद्यालयको सिकाई उपलब्धी वृद्धि गर्न सवै सरोकार पक्षहरु लाग्नु पर्ने बताउनु भयो । उहाँले विद्यालयको भौतिक संरचना सुधारका लागि यहाँका जग्गादाताहरुले जग्गा दिएको स्मरण गर्दै शैक्षिक सुधारमा पनि यसरी नै सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा टोल संयोजक ओम बहादुर लम्काहा र भूतपूर्व अध्यक्ष भुवन सिं विकले यस विद्यालयको शैक्षिक गुणस्तर सुधार हुदै गएको बताउदै यसको निरन्तरताको लागि थप सल्लाह सुझावको अपेक्षा राखेको बताउनु भयो ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित विभिन्न खेलकूद तथा वौद्धिक क्रियाकलापहरुको आयोजना गरिएको थियो भने अभिभावकहरुका लागि बेलुन नाच र भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताका विजयी विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयले पुरस्कार वितरण गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर नगरकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ सरस्वती न्यौपानेले विद्यालयको प्रगति प्रतिबेदन र २२ लाख ८९ हजार बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । शिक्षक मनरुपा बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक गोमता घिमिरेले गर्नु भएको थियो ।