काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्थापनाको ६५ वर्षको अवधिमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार आयोजना गरिएको ५० औँ दीक्षान्त समारोहमा इतिहासकै सबैभन्दा धेरै अर्थात् १४ हजार ३०८ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षित भएका छोराछोरीसँग खुसियाली साट्न उपस्थित हुनुभएका अभिभावक, दीक्षित विद्यार्थीका श्रीमान्, श्रीमती छोराछोरीलगायत अन्य सदस्यसमेत गणना गर्दा ३० हजारको हाराहारीमा उपस्थिति रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीको अनुमान छ ।

एकै पटकमा यति धेरै विद्यार्थी र अभिभावकलाई उपस्थित गराएर दीक्षान्त समारोह सम्पन्न गराउँदै आएको त्रिविले अब भने यसको शैली बदल्ने भएको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार अबदेखि कि त छ/छ महिनाको अवधिमा दीक्षान्त समारोह हुने छ । त्यो हुन सकेन भने सम्बन्धित सङ्काय अनुसार फरक फरक मितिमा दीक्षान्त समारोहको आयोजना गरिने छ । त्रिवि अन्तर्गत नौ वटा सङ्काय छन् ।

दीक्षान्त समारोहको शैली बदल्ने विषयमा उपकुलपतिको अध्यक्षतामा रहने विश्वविद्यालयको कार्यकारी परिषद्ले यसअघि नै निर्णय गरिसकेको छ तर सङ्काय अनुसार दीक्षान्त गराउँदा पनि नौ वटा सङ्कायका लागि नौ पटक नै गराउनुपर्ने भएकाले छ/छ महिनाको अवधिमा दीक्षान्त समारोह गर्दा उपयुक्त हुने धेरैको राय छ ।

सबैभन्दा धेरै भनिएको गत वर्षको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार ३७४ जना विद्यार्थी र उहाँका अभिभावक उपस्थित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । जोशीले भन्नुभयो, “हरेक वर्ष दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीको आकर्षण बढिरहेको छ । अब एकै पटक यति धेरै व्यक्तिलाई भेला गराएर दीक्षान्त समारोह गर्न सक्दैनौँ ।”

शनिबार पनि दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकलाई बिहान साढे १० बजे बोलाइएको भए पनि बिहान साढे ६ बजेदेखि नै भिड सुरु भएको जोशीले बताउनुभयो । त्रिविमा दीक्षान्त समारोहको सम्पूर्ण व्यवस्थापनको काम पनिकाले गर्दै आएको छ । समारोहमा दीक्षित हुन जम्मा भएका विद्यार्थी र खुसी साट्न उपस्थित हुनुभएका अभिभावकमा एक प्रकारको उल्लास देखिए पनि सवारीसाधनको अस्तव्यस्ततादेखि दीक्षान्त समारोहको भिड व्यवस्थापनमा पनि निकै सकस भएको थियो ।

परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, “शनिबारको दीक्षान्त समारोहमा जम्मा भएकाजति मानिस अहिलेसम्म नेपालको कुनै पनि कार्यक्रममा एकै पटक जम्मा भएका छैनन् होला । धन्न सम्पन्न गरियो । टाउको हलुका भएको छ ।”