तानसेन, पाल्पा । “महिला नेतृत्वको बजार : संयुक्त अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ तानसेन नगरपालिका वडा नं. ४ मखनटोल तेर्सो सडकमा साप्ताहिक सडक मेला शुरु भएको छ ।
हरेक शुक्रबार लाग्ने उक्त साप्ताहिक मेलाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ र युनोस्पका कन्ट्रि म्यानेजर कमल कार्कीले संयुक्त रूपमाले शुभारम्भ गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले सडक महोत्सवले तानसेनको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा ठूलो भूमिका खेल्ने बताउनुभयो । विशेषगरी महिलाहरूको नेतृत्वमा भएको यो कार्यक्रमले नगरलाई आत्मनिर्भर र सशक्त बनाउने दिशामा प्रेरणा दिने अपेक्षा नगरपालिकाले राखेको बताउनुभयो । सडक महोत्सवले केवल स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन मात्र नगरि हाम्रो संस्कृतिलाई संरक्षण गर्न पनि महत्वपूर्ण योगदान रहने बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले साप्ताहिक बजारले तानसेनलाई व्यापारिक र सांस्कृतिक रूपमा नयाँ उचाइमा पुर्याउने बताउनुभयो । स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा यो एउटा महत्वपूर्ण कोशेढुंगा हुने बताउदै विशेषगरी महिलाहरूको नेतृत्वमा भएको यो कार्यक्रमले नगरलाई आत्मनिर्भर र सशक्त बनाउने दिशामा प्रेरणा दिएको उल्लेख गर्नु भयो । उपप्रमुख सिंजालीले तानसेनमा पहिलो चरणमा ५ स्थान र थप ४ स्थानमा महिलामैत्री पार्क निर्माणका लागि छलफल चलेको समेत बताउनु भयो।
मखनटोल टोल विकास संस्थाले तानपा वडा नम्बर ४ सँग मिलेर महोत्सवको आयोजना गरेको जानकारी दिदै टोल विकास संस्थाकी अध्यक्ष ज्ञानु कार्कीले सडक मेलामा बटुक, सेल, नेवारी बारा, मिसमास, योमरी, झिनियाँ, चुकाउनी लगायत स्थानीय खानाका २४ वटा स्टलहरू रहने बताउनु भयो । मेला हरेक साताको शुक्रबार दिउँसो १ बजेदेखि आयोजना हुनेछ ।

ऐतिहासिक शहर तानसेनको मंखनटोलमा साप्ताहिक बजारको शुभारम्भ भएसँगै स्थानीय अर्थतन्त्र र व्यापारमा नयाँ उत्साहा थपेको छ । सांस्कृतिक सम्पदा र मनोरम प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षणको केन्द्र रहँदै आएको तानसेनलाई यो महोत्सवले थप पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको तानसेन वडा न ४ का वडाध्यक्ष हेमन्त राज शाक्यले बताउनुभयो ।
महोत्सवले स्थानीय समुदायलाई आर्थिक रूपमा सबल बनाउने मात्र होइन, समाजमा आपसी सहकार्य र मेलमिलापको भावना पनि प्रवर्द्धन गर्नेछ । हरेक शुक्रबार जमघट हुने यो महोत्सवले ताजा उत्पादन, सांस्कृतिक प्रस्तुतिहरू र सामाजिक संवादको थलो उपलब्ध गराउने वडा अध्यक्ष शाक्यले बताउनुभयो । साप्ताहिक बजारका लागि युनोस्प (सिट फर वोमेन) को सहयोग रहनेछ ।