दोभान, पाल्पा । तिनाउ नदीमा विष, विषादी, विद्युत धाराप्रवाह र विफोष्टक पदार्थको अवाञ्छित प्रयोग हुन नदिनका लागि साझा प्रतिवद्वता पत्रमा हस्ताक्षर गरिएको छ । तिनाउ गाउँपालिका दोभानको डोलमा सम्पन्न तिनाउ नदी संरक्षणका लागि हाम्रो प्रतिवद्वता कार्यक्रमका सहभागीहरुले उक्त प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ नदीमा हुने र हुन सक्ने अवाञ्छित क्रियाकलापलाई रोक्न पालिका प्रतिवद्व रहेको बताउँदै तिनाउ नदी हामी सबैको साझा प्राकृतिक सम्पदा रहेकोले सबैले जोगाउनु पर्ने बताउनु भयो । उहाँले गैरजिम्मेवारी काम गर्नेहरुलाई कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिनु भयो ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउ नदीमा अवाञ्छित कामका रुपमा बम पड्काउने, विजुलीको तार प्रयोग गर्ने र विषादीको प्रयोग गरि माछा मार्ने कामलाई कुनै हालतमा वैधानिक मान्न नसकिने बताउँदै कानूनलाई हातमा लिनेहरुलाई प्रहरी प्रशासनसँग मिलेर कार्वाही गर्न पालिका पछाडि नहट्ने बताउनु भयो ।

सो कार्यक्रममा दोभान प्रहरी चौकीका ईन्चार्ज जनकबहादुर बुढामगरले प्रहरीलेमात्र समुदायमा घट्ने वा घट्न सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सम्भव नभएको बताउँदै स्थानीय सबै संस्था र व्यक्तिहरुसँग मिलेर नै तिनाउ नदीमा हुने गैरकानुनी कामलाई रोक्न दोभान प्रहरी चौकी क्रियाशील र सामर्थ्यवान रहेको बताउनु भयो। उहाँले कानूनको नजरमा दोषीलाई प्रहरीले कुनै हालतमा नछाड्ने र कानूनको कठघरामा उभ्याउने प्रतिवद्वता समेत जनाउनु भयो ।
कार्यक्रममा सामुदायिक वन समन्वय समिति तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउ नदीलाई स्वच्छ र सुन्दर बनाउन सबै तिनाउबासी जागरुक हुनुपर्नेमा जोड दिनु भयो । उहाँले तिनाउ नदीलाई संरक्षण र सम्बर्द्वन गर्दै पछिल्लो नयाँ पुस्तालाई उत्तम रुपमा हस्तान्तरण गर्नु आजको दायित्व रहेको ओैल्याउदै तिनाउ नदी संरक्षणका लागि हाम्रो प्रतिवद्वता जरुरी रहेको तथा तिनाउलाई दीर्घकालसम्म जीवित राख्न सवैले सक्दो पहल गर्नुपर्ने उल्लेख गर्नु भयो ।
समितिका महासचिव गणेश रास्कोटीले सञ्चालन गर्नु भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले सहभागीहरुलाई स्वागत तथा कार्यक्रमको ओैचित्यता प्रकाश पार्नु भएको थियो ।