चिदीपानी, पाल्पा । पछिल्लो समय सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान र सिप बढाउने उद्धेश्यले पाल्पाका विभिन्न विद्यालयहरुले खाना महोत्सवको आयोजना गरिरहेको अवस्थामा सौभाग्य माध्यमिक बिद्यालय चिदीपानी पाल्पाका विद्यार्थीहरुले पनि खाना महोत्सवको आयोजना गरेका छन् ।

विद्यालयमा सधै जसो लेख्न पढन र खेल्नमा व्यस्त रहने विद्यार्थीहरु आइतबार भने स्थानीय खानाका बिभिन्न परिकारहरु बनाउनमा लागिपरेका थिए । विद्यार्थीहरु कोदोको रोटी, फापरको रोटी, मकैको रोटी, मःम, बटुक, पानीपुरि, बन तरुल, सेल रोटी, अर्गानिक खुदो र गाजरको हलुवा लगातयका परिकार बनाउनमा व्यस्त देखिन्थे ।

माथागढी गाउँपालिका वडा नं.१ चिदीपानीको सौभाग्य माध्यमिक बिद्यालयमा आयोजित उक्त खाना महोत्सवमा जनप्रतिनिधि, अभिभावक, समाजसेवी, बुद्धिजीवीहरू, पत्रकार, युवा क्लबका सदस्यहरु तथा बिद्यालयका शिक्षक लगायतले विद्यार्थीहरुले बनाएको परिकारको स्वाद लिएका थिए ।

माथागढी गाउँपालिका वडा न १ का वडाध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले बस्तुगत शिक्षा, ब्यबहारिक शिक्षा र बैज्ञानिक शिक्षा पछिल्लो समयमा प्राविधिको युग सँगसँगै परिमार्जित हुदै अगाडि बढेको बताउनु भयो । पन्थीले शिक्षकहरुको सहयोगमा विद्यार्थीहरुले खानाको विभिन्न अर्गानिक परिकारहरु बनाएर अभिभावकहरुलाई आकर्षक गरेको देख्दा विद्यालय परिवार हर्षित भएको बताउनु भयो । उहाँले बिद्यार्थीहरुको ब्यवहारिक शिक्षालाई अभिवृद्धि गर्न आयोजना गरिएको कार्यक्रम भव्य र सभ्य ढंगबाट सम्पन्न भएको र त्यसका लागि विद्यार्थी, शिक्षक एवम् प्रशासन बिचमा देखिएको सहकार्यले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनु भयो।

बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनालले पुस्तकमा पढेको कुरा भन्दा व्यबहारिक ज्ञान विद्यार्थीहरुलाई दिनु पर्छ भन्ने उद्धेश्यले खाना महोत्सव आयोजना गरिएको बताउनु भयो। खनालले कक्षा ६ देखि १२ कक्षा सम्मका प्रत्येक विद्यार्थीबाट २ सयको दरले आर्थिक सकलन गरि महोत्सव गरिएको पनि बताउनु भयो । उहाँले परम्परागत खानाको परिकार लोप दुदै गएको महसुस भएर यस विद्यालयले अर्गानिक खानाहरुको महोत्सव गरिएको बताउनु भयो । प्रधानाध्यापक खनालले केवल खानाको उत्सव मात्र नभई यसले समुदायलाई एकताबद्ध गर्नको लागि महत्वपूर्ण भूमिका निभाएको पनि बताउनु भयो ।

शिक्षक अभिभावक सघका अध्यक्ष अम्विका काफ्लेले खाना महोत्सवबाट विद्यार्थीहरुले पढ्दै रमाउदै कमाउदै सिक्दै एउटा राम्रो पर्यत्न गर्दै अगाडि बढेको बताउनुभयो । उहाँले विद्यार्थीले व्यबहारिक ज्ञानलाई कसरी अगाडि लैजाने, आर्यआर्जन कसरी गर्न सकिन्छ भन्ने ज्ञान र सीपहरु यस महोत्सवले सिकाएको बताउनुभयो ।

यस्तै स्थानीय ऋषिराम पन्थीले यस महोत्सवले विद्यार्थीहरुलाई आत्म निर्भर हुने सीप सिकाएको बताउनु भयो । सौभाग्य माध्यमिक बिद्यालयका शिक्षक नारायण आर्चायले स्थापना काल देखि सञ्चालनमा आउनु पर्ने यस प्रकारको कार्यक्रम अहिले पहिलो पटक हुँदा विद्यार्थीहरु समेत खुशी भएको बताउनु भयो।

महोत्सवमा ८ वटा स्थल राखीएको थियो भने कक्षा ६ देखि १२ सम्म अध्ययनरत बिद्यार्थीहरुले खानाको बिभिन्न परिकार निर्माण गर्नुको साथै साँस्कृतिक प्रतिभा प्रस्तुत गरेका थिए । खाना महोत्सवमा संलग्न विद्यार्थीहरुले आफुहरुलाई खाना बनाउने सीपको सिकाई मात्र नभई ब्यापार गर्ने अनुभवको सिकाई समेत भएको बताएका थिए ।